कमोडिटी मार्केट (वस्तु विनियम बजार)का नाममा देशभर १२ हजार दुइसय ५९ व्यक्तिबाट तीन अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी भएको पाइएको छ।
कमोडिटी मार्केटमार्फत अबैध तरीकाले ठगी गरेको आरोपमा म र्कन्टायल एक्सचेन्ज नेपाल (मेक्स) र हिमालयन क्लियरिङ कर्पोरेसन (एचसिसी)का प्रमुख कार्यकारी अधिकृत जितेशलाई पक्राउ गरेर प्रहरीले गरेको अनुसन्धानमा त्यस्तो तथ्य फेला परेको हो।
कमोडिटी मार्केटका नाममा मुलुकभरबाट १२ हजार दुई सय ५९ व्यक्तिलाई ठगिएको छ । जसमध्ये ६८ जनाले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले मेक्स र एचसिसीले १० करोड ७४ लाख १६ हजार पाँच सय ७० रुपैयाँ ठगी गरेको मागदाबी गरेका छन् । बाँकी पीडितको भने प्रहरीमा जाहेरी परेको छैन ।
प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार कमोडिटी मार्केटका नाममा ठगीधन्दा ०६४ देखि नै चल्दै आएको थियो । त्यसमध्ये सुरुका वर्ष गरिएका कारोबारको कुनै तथ्यांक छैन । पछिल्ला वर्ष गरिएका कारोबार भने प्रहरीले पत्ता लगाएको छ । यस अवधिमा उनीहरूले छ अर्ब ३८ करोड ५० लाख ५४ हजार तीन सय ४५ को कारोबार गरेको देखिन्छ ।
ग्राहकले विभिन्न मितिमा तीन अर्ब ३८ करोड १४ लाख ९९ हजार एक सय ४७ रुपैयाँ रकम झिकेका छन् भने तीन अर्ब ३५ लाख ५५ हजार एक सय ४७ रुपैयाँ जम्मा गरेका छन् । यसबापत एचसिसीले एक अर्ब ५५ करोड आठ लाख २० हजार सात सय ७८ रुपैयाँ नाफा भएको भन्दै आपसमा बाँडेको छ । अर्काे एक अर्ब १४ करोड ७७ लाख २० हजार नौ सय १७ रुपैयाँ भने कमिसनबापत मेक्स नेपाल र ब्रोकर कम्पनीले लिएको देखिन्छ । कमिसनबापत प्राप्त गरेको रकम एचसिसीले छद्म रूपमा बैंकमा खाता खोली छुट्टै ‘सेग्रेगेट’ खातामा जम्मा गरेका थियो । उक्त रकमको परिमाण ३० करोड ५० लाख १३ हजार चार सय ५२ रुपैयाँ छ ।
सबै गरेर मेक्स नेपाल र एचसिसीले १२ हजार दुई सय ५९ ग्राहकबाट तीन अर्ब ३५ लाख ५५ हजार एक सय ४४ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
यसरी हुन्थ्यो ठगी
कमोडिटी कारोबार वस्तु विनिमयको मूल्यलाई आधार मानेर गरिने ‘भर्चुअल’ कारोबार हो । यसको कारोबार सेयरसँग मिल्दोजुल्दो हुन्छ । सेयर कारोबारमा कम्पनीको मूल्य बजारले निर्धारण गर्छ । सोही आधारमा कम्पनीको सेयर खरिद–बिक्री हुन्छ । यसमा वस्तुको मूल्य व्यक्तिले निर्धारण गर्छ । सोही आधारमा खरिद–बिक्रीका लागि बोलकबोल हुन्छ । यस्ता कारोबारमा सुन, चाँदी, पित्तल, फलाम, ग्यास, गहनालगायत सामग्री प्रयोग हुन्छन् ।
कारोबारका लागि कम्पनीले विशेष किसिमको ‘मेक्स नेपाल’ नामको एप्लिकेसन बनाएको छ । सोही एप्लिकेसनमा वस्तुको मूल्य निर्धारण गरी बोलकबोल लगाइन्छ । रकम एप्लिकेसनमार्फत खातामा जम्मा गर्न लगाइन्छ । सुरु कारोबार गर्नेलाई जिताइन्छ । हौसिएर जब उसले धेरै कारोबार गर्न सुरु गर्छ, त्यसपछि एप्सको सर्भर नै डाउन गराइन्छ । जसबाट वस्तुको निर्धारित मूल्य नाटकीय ढंगले घटाइन्छ । कारोबार गर्ने व्यक्ति अब सस्तो मूल्यमा वस्तु तथा सामग्री बेच्न बाध्य हुन्छ । यही मौकामा महँगो वस्तु तथा सामग्री सस्तो मूल्यमा कम्पनी आफैँले खरिद गर्छ । जब बिक्री गर्ने समय आउँछ, पुनः सर्भर डाउन गरी वस्तुको मूल्य फेरि एकाएक बढाइदिन्छ । यसरी कम्पनीले दोहोरो नाफा कमाउँछ । प्रहरीका अनुसार यो धन्दा धितोपत्र बोर्डको अनुमितविना ०६४ देखि नै चल्दै आएका थियो । जब पीडित ठगिएको निष्कर्षमा पुगे, त्यसपछि मात्रै प्रहरीमा उजुरी पर्यो ।
प्रहरीमा उजुरी परेपछि कमोडिटी ठगी अभियोगमा ५१ जना संलग्न भएकोमा ४७ विरुद्ध मुद्दा दर्ता भएको हो । यीमध्ये पक्राउ परेका चार अभियुक्तविरुद्ध बयान सुरु भएको छ ।
ठगी गरिएको रकम भारतको एचडिएफसी बैंकमा
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार कमोडिटी मार्केटका मुख्य योजनाकार भारत तमिलनाडुका सुरेन्द्रनले मात्रै एचसिसी र मेक्सबाट कमसिन बापत १५ करोड ५० लाख ८२ हजार ७७ रुपैयाँ प्राप्त गरेका थिए । उनले कम्पनीले नाफा गरेको कुल मुनाफको १० प्रतिशत आफैँ लिँदै आएका थिए । प्राप्त रकम सोहीबापतको हो । यो रकम उनले हुन्डी तथा क्रिप्टोकरेन्सीमार्फत भारत लैजाने गर्थे । यसरी लगिएको रकम भारतको एचडिएफसी (हाउजिङ डेभलपमेन्ट फाइनान्स कर्पोरेसन) बैंकमा जम्मा गर्थे ।
एचसिसीमार्फत कमोडिटी नामको ठगी धन्दा उनले इम्पेरियम फाइनान्स एकेडमी (आइएमएफए)को आवरणमा सञ्चालन गर्दै आएका थिए । उनकी श्रीमती तेजस्वी शर्मा नेपाली हुन् । उक्त कम्पनी उनले श्रीमतीको नाममा दर्ता गराएका छन् । सानोगौचरनमा रहेको कार्यलयको ढोकामा स्टिकर पनि उनले आइएमएफएकै टाँसेका छन् । दर्ता प्रमाणपत्र तथा पान नम्बर पनि सोहीमार्फत नै झिकेका छन् । एचसिसीको दर्ता सन्दर्भमा कसैले जानकारी लिन खोजे उनले सोही कम्पनीको दर्ता प्रमाणपत्र देखाउँदै आएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले नक्कली कम्पनी खडा गरी कमोडिटी मार्केटका नाममा ठगी भएको बताए । कारोबार गर्न अनुमति पनि कहीँबाट नलिएको उनको भनाइ छ ।