नेपाल आईसीसी वर्ल्ड क्रिकेट च्याम्पियनसिपको पाँचौं स्थानमा: नामिबियामाथि नेपालको अर्को जित

नेपाल आईसीसी वर्ल्ड क्रिकेट च्याम्पियनसिपको पाँचौं स्थानमा: नामिबियामाथि नेपालको अर्को जित


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ बैशाख २०७३
  • 15.4K
    Shares

नामिबियाविरुद्ध दुवै खेल जित्दै नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको पाँचौं स्थानमा उक्लिएको छ। सोमबार भएको दोस्रो खेलमा नेपालले घरेलु मैदानमा नामिबियालाई तीन विकेटले हरायो। शनिबार भएको पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो।
लिग च्याम्पियनसिपमा आठ टोली छन् भने प्रत्येक टोलीले एकअर्कासँग दुईदुई खेल खेल्नेछन्। प्रतियोगिताका शीर्ष चार टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटमा सहभागी हुने अवसर पाउनेछन् भने अन्तिमका चार टोली डिभिजन दुईमा झर्नेछन्।
नेपालले ६ खेलबाट चार अंक जोडेको छ। ६ खेलबाट १० अंक भएको नेदरल्यान्ड्स तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको हङकङले ६ खेलबाट नौ अंक, तेस्रो स्थानमा रहेको स्कटल्यान्डले ६ खेलबाट सात अंक र चौथो स्थानमा रहेको केन्याले चार खेलबाट ६ अंक जोडेका छन्।
स्कटल्यान्ड र पपुआ न्युगिनीसँगको खेलमा पराजित भएपछि अंकतालिकाको पुछारमा रहेको नेपाल नामिबियाविरुद्ध दुवै खेल जितेर तीन स्थान माथि उक्लँदै पाँचौं स्थानमा पुगेको हो। छैटौं स्थानमा रहेको पपुआ न्युगिनीले चार खेलबाट चार अंक जोडेको छ भने नामिबिया र यूएईले ६ खेलबाट दुई अंक बटुलेका छन्।
पारस खड्काको कप्तानी पालि र शरद भेषावकरको समालिएको प्रदर्शनमा नेपालले उत्कृष्ट ब्याटिङ गर्दै चुनौतीपूर्ण लक्ष्य पार गर्यो। टस जितेको नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। नामिबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ३९ रन जोड्यो। एक सय ३४ रन जोड्दा ६ विकेट गुमाएको नामिबियालाई पछिल्लो क्रमका ब्याट्सम्यानले समालेका थिए।
नेपालले ४९.५ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका कप्तान पारसले एक सय तीन रन बनाए। शरद ७४ रनमा अविजित रहे। ३७ रनमा टोलीले दुई विकेट गुमाएको अवस्थामा पारस र शरदले उत्कृष्ट साझेदारी गरेका थिए। यी दुई अनुभवी खेलाडीबीच तेस्रो विकेटका लागि एक सय ६७ रनको साझेदारी भएको थियो। लिस्ट ए क्रिकेटमा नेपालको यो सबैभन्दा ठूलो रनको साझेदारी हो।
पारसले आक्रामक पालि खेल्दै ९४ बलमा सात छक्का र पाँच चौका प्रहार गरे। तेस्रो नम्बरमा ब्याटिङमा आएका शरदले एक सय सात बलमा पाँच चौका हिर्काए। पहिलो खेलमा पनि शरदले अविजित ५० रन जोडेका थिए।
‘शीर्ष चारभित्र उक्लन हामीलाई नामिबियाविरुद्ध जित्नैपर्ने दबाब थियो। त्यसमा हामी सफल भयौं। शरदले दुवै खेलमा निकै राम्रो प्रदर्शन गरे। दुई सय ४० रनको लक्ष्य पूरा गरी टोली मनोवैज्ञानिक रूपमा बलियो भएको छ। यही प्रदर्शनलाई अब विदेशी भूमिमा पनि दोहोर्याउनुपर्छ’, जितपछि पारसले भने।
नेपालले स्कटल्यान्ड र पपुआ न्युगिनी दुवैसँग विदेशी भूमिमा खेलेको थियो। प्रतियोगिताअन्तर्गत नेपालले अब नेदरल्यान्ड्ससँग उसैको मैदानमा खेल्नेछ। यो भिडन्तअघि केन्या र हङकङ तथा स्कटल्यान्ड र यूएई आपसमा भिड्नेछन्। नेपाली टोलीका प्रशिक्षक जगत टमटाले सिनियर टोलीलाई पहिलोपटक समाल्ने क्रममा सफलता पाएकोमा आफ्नो खुसी शब्दमै व्यक्त गर्न नसकिने भएको प्रतिक्रिया दिए।
पारसको कीर्तिमानी शतक
घरेलु मैदानमा लोभलाग्दो पालि खेलेका नेपाली टोलीका कप्तान पारस खड्का एक दिवसीय स्वरूपका अन्तर्राष्ट्रिय प्रतियोगितामा दुईपटक शतक बनाउने दोस्रो नेपाली ब्याट्सम्यान भएका छन्। यसअघि अनिल मन्डलले मात्र यो सफलता हातपारेका थिए।
अनिलले वर्ल्ड क्रिकेट लिग डिभिजन फोरमा र वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत स्कटल्यान्डविरुद्ध भएको खेलमा शतक (एक सय रन) बनाएका थिए। पारसले भने यसअघि सन् २०१२ मा यूएईमा भएको एसीसी ट्रफीमा कुवेतविरुद्ध अविजित एक सय ६ रन बनाएका थिए।
पारस लिस्ट ए क्रिकेटमा भने सर्वाधिक रनको पालि खेल्ने नेपाली ब्याट्सम्यान बने। यसअघि लिस्ट ए क्रिकेटमा शतक बनाएका एकमात्र नेपाली ब्याट्सम्यान अनिलले ठीक एक सय रन जोडेका थिए। ‘कुवेतसँगको खेलमा मैले शतक बनाउँदा टोली हारेकाले यसपटक निकै डर लागेको थियो’, पारसले भने, ‘मैले शतक बनाउनुभन्दा पनि ठूलो कुरा टोलीले जित्नु हो। मैले १० रन बनाऊँ वा शतक तर टोलीले जित्नुपर्छ।’ ९१ रनमा जीवनदान पाएका पारसले छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए।

प्रतिक्रिया