वैदेशिक रोजगार विभागले काठमाडौंकाे सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा छापा मारी ८७ थान पासपोर्ट जफत गरेको छ।
कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान विपरीत ह्वाइट हर्स रिक्रुटमेन्टले किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रकृया अगाडि बढाएको भेटिए पछि त्यस म्यानपावरबाट ८७ थान पासपोर्ट जफत गरेको हो ।
ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशन बिना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचना प्राप्त भए पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले साे म्यानपावरमा छापा मारेको थियो ।
विभागले हिजो मात्रै कतार पठाउन २५ लाखसम्म लिने गरेको गुनासो आएपछि अल ताक्वेत ओभरसिज नेपाल प्रालिमा छापा हानेर कागजातहरु नियन्त्रण लिएको छ।
उक्त म्यानपावरमाथि अनुसन्धान जारी रहेको विभागले जनाएको छ। दुवै म्यानपावरलाई विभागले थप अनुसन्धान गरेर वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ।