अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्री म्याकलम टर्नबुलबीच टेलिफोन वार्ताकै क्रममा चर्काचर्की भएको खुलासा भएको छ । राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री टर्नबुलबीच भएको वार्ताका क्रममा अस्ट्रेलियामा शरण मागिरहेको शरणार्थीलाई अमेरिकामा लैजानेबारे ओबामा प्रशासनले गरेको सम्झौताको विषयमा कुराकानी भएको थियो ।
टर्नबुलसँग भएको कुराकानीलाई ट्रम्पले अहिलेसम्मकै खराब कुराकानी भएको बताएका छन् । फेरि अमेरिकामा शरणार्थी बसाउने बारेमा भइरहेको कुराकानीका क्रममा चर्काचर्की भएपछि ट्रम्पले टेलिफोन काटेका थिए ।
ओबामा प्रशासनले अस्ट्रेलियामा शरण मागिरहेका १ हजार २ सय ५० शरणार्थीलाई अमेरिकामा प्रवेश दिने सहमति गरेको थियो । यी शरणार्थीलाई अस्ट्रेलियाले नारु र पपुवा न्युगिनीका जेलमा राख्नुपर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो । त्यसपछि ट्रम्पले एक ट्विटमा लेखेका छन्, ‘म यो सम्झौतालाई अध्ययन गरिरहेको छु ।’
टर्नबुलले भने ट्रम्पले कुराकानी जारी रहने आश्वासन दिएको बताएका छन् । सिड्नी रेडियोसँग कुराकानी गर्दै उनले ट्रम्पले फोन राखेको खबर गलत भएको दाबी गरे । गत शुक्रबार राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै मुस्लिम बहुल देशका शरणार्थीलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएका थिए ।
त्यसलगत्तै टर्नबुलले ओबामा प्रशासनकै पालामा भएको सम्झौता अघि बढ्ने प्रतिबद्धता ट्रम्पसँग चाहेका छन् । आप्रवासी र शरणार्थीमाथि प्रतिबन्ध लगाएको एक दिनपछि सोमबार टर्नबुलले आफूले कुराकानी गरेर सम्झौतालाई जारी राखेकोमा ट्रम्पलाई धन्यवाद दिएका थिए । बधबार अमेरिकी राष्ट्रपतिका प्रवक्ताले ट्रम्पले सम्झौतालाई जारी राख्न चाहेको टर्नबुलले बताएका थिए । तर, अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनले सो खबर प्रशारण गरेको केही समयपछि नै ह्वाइट हाउसले अझै सम्झौता विचाराधिन रहेको बताएको थियो ।
अमेरिकाको वासिंगटन पोस्टले टर्नबुलसँग भएको कुराकानीलाई ट्रम्पको अहिलेसम्मकै सबैभन्दा खराब टेलिफोन कल बताएको जनाएको छ । वासिंगटन पोस्टका अनुसार राष्ट्रपति ट्रम्पले बोस्टनमा विस्फोट गराउनेहरुलाई अमेरिका पठाउन टर्नबुल उत्सुक देखिएको बताएका थिए । उनले २५ मिनेटपछि अचानक टर्नबुलसँगको टेलिफोन कुराकानी जारी रहेका बेला काटिदिएका थिए ।
ट्रम्पले आफ्नो ट्विटरमा लेखेका छन्, ‘ओबामा प्रशासनले अस्ट्रेलियाका हजारौं आप्रवासीलाई लिने सहमति गरेको थियो, किन ? म यो सम्झौता अध्ययन गर्नेछु ।’
मानवअधिकारका क्षेत्रमा क्रियाशील संगठनहरुले अस्ट्रेलियाको शरणार्थी नीतिलाई लिएर आलोचना गर्ने गरेका छन् ।
गत वर्षको नोभेम्बरमा यो सम्झौतामाथि कुराकानी सुरु भएर सहमति कायम भएको थियो । जसमा अमेरिकी अधिकारीले शरणार्थीमाथि अध्ययन गरेर कसलाई अमेरिका प्रवेश गर्न दिने बारेमा निश्चित गर्ने उल्लेख गरिएको थियो ।
यद्यपि आप्रवासी र शरणार्थीका विषयलाई लिएर कडा रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पले अमेरिकामा सिरिया, इरान, इराक, सोमालिया, लिबिया, यमनलगायत ७ देशका आप्रवासीलाई अमेरिका प्रवेश गर्न नदिने अस्थायी आदेशमा हस्ताक्षर गरेपछि यसको विरोध हुँदै आएको छ ।
ट्रम्पको आप्रवासी नीतिको मुस्लिम बहुल देशका साथै जर्मनी, बेलायतजस्ता अमेरिकालाई नजिकबाट सहयोग गर्दैै आएका राष्ट्रले समेत विरोध गर्दै आएका छन् भने राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले समेत अमेरिकी नीतिको चर्को आलोचना गरेका थिए ।