बेलायतको स्थानिय निर्बाचनमा पाँच जना गैरआवासीय नेपाली उम्मेदवारहरू विजयी भएका छन्।
निर्वाचितमध्ये तीन जना विपक्षी दल लेबर पार्टीका उम्मेदवार छन् भने अरु दुई सत्तारुढ कञ्जरभेटिभ पार्टीका छन्।
दश जना नेपाली मुलका उम्मेदवारमध्ये पाँच जना विजयी भएका हुन्। निर्वाचित हुने मध्ये लन्डनको हन्सलो बरोबाट मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलरमा निर्वाचित भए। लेबर पार्टीबाट उम्मेदवार गुरुङले १ हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। लन्डनको बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित भएका छन्। सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन्। रोयल बरो अफ ग्रीनबीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार जीत रानाभाट विजयी भएका हुन्।उक्त वडामा तीन काउन्सिलरका लागि दश उम्मेदवारबीच भएको प्रतिस्पर्धामा रानाभाटसंगै अन्य दुई पनि लेबर पार्टीकै उम्मेदवार विजयी भएका छन्।