पाकिस्तानी हतियारधारीद्वारा तीन दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई टर्कीका प्रहरीले अपहरणमुक्त गरेका छन्।
टर्कीको ताक्सिम स्क्वायरमा बन्धक बनाइएका उनीहरुलाई टर्कीका प्रहरीले मंगलबार अपहरणमुक्त गराएका हुन् । अपहरणमुक्त नेपालीको नाम भने अहिलेसम्म खुल्न सकेको छैन।
युरोप छिर्ने उद्देश्यका साथ् टर्की पुगेका ती चार जना नेपालीलाई पाकिस्तानी हतियारधारीहरुले तीन दिन अघि अपहरण गरी टर्कीको ताक्सिमस्थित एक घरमा राखेर प्रतिव्यक्ति १० हजार युरो माग गरेका थिए।
चार नेपाली अपहरणमा परेको सुचना पाएको टर्किस प्रहरीले एक जना महिलालाई पक्राउ गरेपश्चात नेपालीलाई बन्धक बनाइएको घरमा पुगेर बन्धक बनाइएका दुई महिलासहित्का चार नेपालीलाई अपहरणमुक्त गरेको समाचार एजेन्सीहरुले जनाएका छन। प्रहरीले उक्त समूहबाट पेस्तोल र चक्कु समेत बरामद गरेको छ । प्रहरीबाट उद्धार भएका चार जनाको अवस्था सकुशल छ ।
टर्की मामिला हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले घटनाबारे पुस्टि गर्दै त्यसबारे अझै विस्तृत जानकारी आइ नसकेको जानकारी दिएको छ। दूतावासका उपप्रमुख लोकबहादुर क्षत्रीले अपहरणमुक्त चार जना नेपालीको भिसा अवस्थाबारे जानकारी लिइरहेको बताए ।