अबैध क्रिप्टोकरेन्सीमार्फत झन्डै ६७ करोड रुपियाँ गैरकानूनी कारोबार गरेको आरोपमा तीन जना पक्राउ :

अबैध क्रिप्टोकरेन्सीमार्फत झन्डै ६७ करोड रुपियाँ गैरकानूनी कारोबार गरेको आरोपमा तीन जना पक्राउ :


  • जन संचार
  • मंगलबार, ६ बैशाख २०७९
  • 5.5K
    Shares

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोप लागेका तीन जना अभियुक्त

नेपालमा अबैध मानिएको डिजिटल मुद्रा क्रिप्टोकरेन्सी कारोबार गरेर आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले क्रिप्टोकरेन्सी कारोबार गरेर आर्थिक अपचलन गरेको आरोपमा तीन जनालाई विशेष सूचनाको आधारमा काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट पक्राउ गरेको हो ।

अबैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा झापा विर्तामोड घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भइ क्षेत्रपाटी बस्ने दिपेश थापा र बाफलका राहुल चचानलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिएका छन्। पछिल्लो दुई वर्षमा उनीहरुले हालसम्म ६६ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार गरेको देखिएको प्रहरीको दाबी छ ।

कार्यालयका अनुसार अनुप मिश्रले सन् २०२१ देखि कारोबार गरेको र उनी एक्लैले यो अवधीमा ३५ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको कारोबार गरेको जनाएको छ । प्रहरीले उनको खातामा १२ हजार ८ सय अमेरिकी डलर बराबरको बिटक्वाइन रहेको समेत फेला पारेको छ ।

पक्राउ परेका दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको जनाएको छ । प्रहरीले उनको खातामा १३ सय ९९ अमेरिकी डलर बराबरको बिटक्वाइन रहेको समेत फेला पारेको छ ।

पक्राउ परेका राहुल चाचानले भने पछिल्लो एक वर्षदेखि क्रिप्टोकरेनसीको कारोबार गरेको र उनले ६ करोड ५३ लाखभन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ । प्रहरीले उनको खातामा ६ सय ५१ अमेरिकी डलर बराबरको बिटक्वाइन मौज्दात रहेको जनाएको छ ।

कार्यालयका अनुसार उनीहरुलै दैनिक ५ हजारदेखि ५० हजार अमेरिकी डलरसम्मको बिटक्वाइनको कारोबार गर्ने गरेको जनाएको छ । कार्यालयले भनेको छ, ‘उनीहरुले व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाइनमार्फत क्रिप्टोमै रकम तिर्ने गरेको समेत देखिन्छ ।’

प्रतिक्रिया