भारतले मूल्य बढेको खबर गर्नासाथ नेपालमा स्वात्तै पेट्रोलियम पदार्थको मुल्य बढाउने नेपाल आयल निगमले यसपाली भारतमा पेट्रोलको मूल्य घटे पनि नेपालमा भने बढाइएको छ।
भारतीय आयल कर्पोरेशनले अप्रिल १ तारिख (चैत १८ गते) देखि पेट्रोलको मूल्य अहिलेको भन्दा एक रुपैयाँ ४८ पैसा घटाएर पठाएको भए पनि नेपाल आयल निगमले भने घाटा भएको भन्दै पाँच रुपियाँ बढाएको छ।
भारतले डिजेलको मूल्य प्रतिलिटर २ पैसाले र मट्टितेलको मूल्य प्रतिलिटर २२ रुपैयाँ १९ पैसा का दरले मूल्य बढाएर पठाए पनि नेपाल आयल निगमले भने डिजल र पेट्रोल दुबैमा पांच रुपियाँ बढाएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको तोकेको नयाँ मूल्य अनुसार, अब पेट्रोलको मूल्य प्रति लिटर एकसय ६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर एकसय ४३ रुपैयाँ पुगेको छ ।
निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि एकहजार पांच सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।