नेपालको अर्थतन्त्रलाई ध्वस्त पार्न सक्ने आंकलन गरिएको क्रिप्टोकरेन्सी गैरकानुनी तरिकाले कारोबार गरेको आरोपमा दुई जना बिरुद्ध झन्डै पौने १० करोड रुपियाँ बराबरको मुद्दा दर्ता भएको छ।
राजश्व अनुसन्धान विभागले मोरङ रतुवामाई नगरपालिका-७ का २८ वर्षीय पुष्कर श्रेष्ठ र २३ वर्षीया विनिता लिम्बुबिरुद्ध काठमाडौं जिल्ला अदालतमा सामूहिक रूपमा मोबाइल एप वान एक्स बेट, बाइनान्स, एडिभी क्यास, क्वाइनबेस, प्याक्सफुल प्रयोग गरी डलर विनिमय गरेको आरोप लगाउदै मुद्दा दर्ता गरेको हो। उनीहरुबिरुद्ध विभागले मंगलबार नौकरोड ७४ लाख ६९ हजार नौसय ८३ रुपैयाँ बिगो माग दाबी गरेको छ।
विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार पुष्करले मेगा बैंकबाट ८४ लाख ८३ हजार चारसय २९, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख ७६ हजार ९९, एनआइसी एसिया बैंकबाट एक करोड ८२ लाख ४९ हजार आठसय ८९ र राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड ३६ लाख ६२ हजार पाँचसय ३९ गरी सात करोड ५७ लाख ७१ हजार नौसय ५८ रुपैयाँ विनिमय गराएको अनुसन्धानमा खुलेको छ। यस्तै, लिम्बुले एनआइसी एसिया बैंकबाट दुई करोड १६ लाख ९८ हजार २४ रुपैयाँ विनिमय गराएको पाइएको छ।
नेपालमा मोबाइल एपबाट डलर विनिमय कारोबार प्रतिबन्धित छ। साथै, संस्थागत रूपमा मात्रै डलर विनिमयको कारोबार बैंकहरूलाई दिइने गरिएको छ। बैंकहरूले सीमित रूपमा व्यक्तिहरूलाई आवश्यकताको आधारमा डलर उपलब्ध गराउने गर्छन्।
वान एक्स बेट, बाइनान्स, एडिभी क्यास, क्वाइनबेस, प्याक्सफुल जस्ता विदेशी मोबाइल एपहरु प्रयोग गरेर उनीहरूले अमेरिकी डलर सटही र क्रिप्टोमा लगानीकर्ताको रूपमा रहेर नेपालका बैंकबाट ठूलो रकम विनिमय गराएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए।
श्रेष्ठ र लिम्बुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, राष्ट्र बैंकले निषेधित गरेको कसुर पुष्टि गरेको देखिएकाले बिगो जफत र तीन वर्षसम्म कैद सजाय माग गरिएको विभागले जनाएको छ।
विभागले केही समयअघि कैलाली लम्कीचुहा नगरपालिका-३ का दिनेश खड्कासहित तीन जनाविरूद्ध ३७ करोड बिगो माग्दै अदालतमा मुद्दा दायर गरेको थियो।