वैदेशिक रोजगार न्यायाधिकरणले ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना सजाय दिने फैसला गरेको छ ।
न्यायाधिकरणका अध्यक्ष रमेश खत्री, सदस्य निशा बानियाँ र गोपीचन्द्र भट्टराईको संयुक्त इजलासले सोमबार ठगीमा संलग्न म्यानपावर कम्पनीलाई सजाय दिने फैसला गरेको हो । वैदेशिक रोजगारको क्षेत्रमा यति धेरै म्यानपावर कम्पनीमाथि एकै पटक सजाय भएको यो पहिलो पटक हो।
सजाय पाउने म्यानपावर कम्पनीहरूमा आरएनआर ग्लोबल जब, एस इम्प्लोइमेन्ट, अञ्जली ओभरसिज, दीप गेट वे, सिटिजन ओभरसिज, इम्पाएर इन्टरनेसनल, लिभर्टी एचआर, मस्राक, मादी ओभरसिज, लक्की ओभरसिज, मेरिगोल्ड ओभरसिज, मोविरा ओभरसिज, प्रदेशी ओभरसिज, आरके म्यानपावर, सिग्नल ओभरसिज, स्टार रे म्यानपावर, सार्क, किस्ट, साउदी नेपाल इम्प्लोइमेन्ट, पर्फेक्ट, स्वस्तिक ओभरसिजलगायत ५३ वटा छन् ।
सजाय पाउनेमा केही म्यानपावर कम्पनीका श्रम प्रतिनिधिसमेत छन् । यी म्यानपावरका लागि सम्पूर्ण कागजात नक्कली बनाउने नेपाल निक प्रेसका सञ्चालकलाई प्रत्येक फाइलका आधारमा आधा सजाय गर्ने फैसला गरेको छ ।
वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्ने अधिकार पाएको न्यायाधिकरणले कतार, साउदी अरब, मलेसियालगायत गन्तव्य देशमा जाने श्रमिकको रोजगार सम्झौता, मागपत्र, श्रम स्टिकरलगायत कागजात नक्कली बनाएर ठगी गरेको हो ।
२०७१ असार २७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल निक प्रेसमा छापा मारेको थियो । त्यतिखेर ती म्यानपावर कम्पनीको कागजात फेला परेपछि आयोगले अनुसन्धान गरेको थियो ।