विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओसहित तीन कर्मचारी जेल चलान भएका छन्।
उच्च अदालत विराटनगरको आदेशमा सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओसहित तीन कर्मचारीलाई पूर्पक्षमा रहने गरी जेल चलान भएका हुन्।
उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजलासले शुक्रबार बैंकका तत्कालीन सीईओ नविन सुवेदी, बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारी र बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हो । पक्राउ परेका बैंकका अपरेसन प्रमुख अमित थापामगरलाई भने दुई लाख रुपैयाँ धरौटीमा छोडने आदेश दिएको छ ।
अदालतका सूचना अधिकारी ओम सुवेदीका अनुसार, सप्तकोशी बैंकबाट सुवेदीको योजनामा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोप बैंकका ९ जना कर्मचारी र ३ जना खातावाला गरी १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो ।
यसअघि सरकारी वकिलको कार्यालयले बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होमप्रसाद पौडेलसहित फरार रहेकाहरु बैंकका कार्यालय सहयोगी चुडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैंकका कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समिक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईविरुद्ध मुद्दा दर्ता गरेको थियो ।