विभागहरु गठनलाई लिएर सत्तारुढ नेकपा एमालेभित्रको विवाद चर्किएको छ । अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालले नोट अफ डिसेन्ट लेख्ने बताएपछि बुधबारको बैठक विना निर्णय सकिएको छ ।
नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टी एकलौटी रुपमा चलाएको र सरकारी सम्पत्तिको दुरुपयोग गर्दै बालुवाटारमा गुटका कार्यकर्तालाई भोज खुवाएको भन्दै आपत्ति जनाएका छन् ।
विभाग गठनको प्रयासमा एमालेको स्थायी समितिको बैठक मंगलबार र बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा नेपाल पक्षले एकलौटी प्रस्ताव तयार पारिएको भन्दै आपत्ति जनाएपछि सचिवालयको बैठक बोलाइएको थियो ।
महासचिव ईश्वर पोखरेल प्रमुख रहेको सचिवालयको बैठक मंगलबार साँझ ५ बजेदेखि राति १० बजेसम्म बालुवाटारमै बसेको थियो । बैठकमा पार्टी सचिव एवं संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले १६ जनाको नाम प्रस्ताव गरे । जसमा नेपाल पक्षका तीन जना मात्र थिए । नेपाल पक्षबाट पशुपति चौलागाईँ, श्रीमाया थकाली र कल्णाणी खड्का मात्र प्रस्ताव गरिएको थियो ।
ओली पक्षीय नेता गुरुङको प्रस्ताव नेपाल पक्षले मानेनन् र आफ्नो पक्षका थप नाम प्रस्ताव गरे । बेदुराम भुसाल, सत्रुधन महतो, बैजनाथ चौधरी, जीवन घिमिरे र गरिमा साहको नाम थप्ने सहमति भयो ।
तर, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, नगेन्द्र चौधरी, जगन्नाथ खतिवडा र विजय पौडेलको नाममा सहमति भएन । सचिवालयको बैठकमा नेपाल पक्षले २१ जनाको नाम प्रस्ताव गर्न र सहमति जुट्न नसकेका थप ५ जना नाम पनि आएको बैठक स्थायी समितिमा पेश गर्न माग गरे । यसमा सचिवालयमा सहमति जुटेको नेपाल पक्षका एक पदाधिकारीको दाबी छ ।
तर, बुधबार विहान बसेको बैठकमा सचिव गुरुङले सुरेन्द्र पाण्डेसहितका ५ नेताको नाम आएको थियो समेत भनेनन् । लगतै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाए । पार्टी अध्यक्ष ओलीले सबैलाई मिलाएर लैजान्छु भनेपनि एकलौटी गरेको, सरकारी सम्पत्ति दोहन गरेर बालुवाटारमा भोज खुवाएको भन्दै नेपालले आपत्ति जनाएका छन् ।
नाकाबन्दी भएकाले आफूहरु चुप लागेको बसेको तर, एकलौटी रुपमा चल्न खोजेको भन्दै उनले नोट अफ डिसेन्ट लेख्ने बताए । उनले ओलीलाई प्रश्न गरे, ‘भोट कति प्रतिशत फरक छ थाहा छ ? अब नोट अफ डिसेन्ट लेख्छु र देशभर जान्छु । मलाई कसले रोक्छ ।’नेता नेपाल कडि्एकपछि उनी पक्षका पदाधिकारीहरु पनि नोट अफ डिसेन्ट लेख्छु भन्नेमा पुगे ।
तर, एमाले अध्यक्ष ओलीले नेपाल समूहको कुरा नसुन्ने भन्दै महासचिव पोखरेललाई निर्णय लेख्न भने । तर, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पनि मिलाएर लैजानुपर्छ रोकिएका छन् ।
ओली कार्यक्रम छ भन्दै चितवन गएका छन् । महासचिव ईश्वर पोखरेल ओखलढुंगा लागेका छन् । २३ र २४ गते पोलिटब्यूरो बैठक बोलाएको छ तर, स्थायी समितिको अर्को बैठक कहिले बस्छ टुंगो छैन ।