खोप विरुद्धको अभियानका सदस्यको बिस्वास मान्दा चेक गणतन्त्रकी एक लोक गायिका हाना होरकाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
गायिका हाना होरकाको छोरा जान रेकले आफ्नी आमा हाना होरकाको ५७ वर्षको उमेरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको समाचार एजेन्सीहरुले बताएका छन्।
रेकका अनुसार उनकी आमाको निधन स्थानीय रुपमा चलिरहेको खोप विरुद्धको अभियानका कारण भएको हो । यो अभियानका नेताहरुले उनकी आमालाई खोप लगाउन हुँदैन भनेर विश्वस्त पारेका कारण आफूहरुले यस्तो परिणाम भोग्नुपरेको उनले बताए ।
‘उनलाई प्रभावित पार्ने ती निश्चित व्यक्तिबारे पनि मलाई थाहा छ । तर उनले परिवारका सदस्यलाई भन्दा अपरिचितलाई विश्वास गरेकोमा भने दुःख लाग्छ,’ रेकले भने ।
असोनेन्स ब्यान्डकी भोकलिस्ट गायिका हानाले साउना र थिएटर हलमा प्रवेश पाउनका लागि आफूलाई जानीजानी कोरोनाद्वारा संक्रमित बनाएको उनको परिवारले बताएको छ ।
इयूका सदस्य राज्यमा खोप कार्ड वा हालै संक्रमित भएको प्रमाण देखाएपछि मात्रै सार्वजनिक स्थलमा प्रवेश पाउने भएपछि उनले खोप लगाउनुको साटो आफूलाई संक्रमित बनाउनु नै मुनासिव ठानिन् ।
सोही अनुरुप क्रिसमस अघि उनका छोरा र श्रीमान् कोभिडद्वारा संक्रमित भएका बेला उनले आफूलाई जानीजानी संक्रमित बनाएको उनका छोरा रेकले एक स्थानीय रेडियोलाई जानकारी दिए।
उनको मृत्यु हुनु दुई दिनअघि उनले सोसल मिडियामा भनेकी थिइन्, ‘म बाँचे… यो साह्रै गाह्रो थियो ।’ ‘त्यसैले अब थिएटर, साउना, कन्सर्ट…. र समुद्रको यात्रा हुनेछ,’ उनले थपेकी थिइन् ।