देउखुरी सहकारी संस्थाका दुई पदाधिकारी जेल चलान

देउखुरी सहकारी संस्थाका दुई पदाधिकारी जेल चलान


  • जन संचार
  • बुधबार, २८ पुष २०७८
  • 6.9K
    Shares

दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका दुई जना पदाधिकारी जेल चलान भएका छन्। जिल्ला अदालत दाङको आदेश बमोजिम संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

सहकारीको पाँच करोड रुपियाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेका उनीहरुलाई अदालतले आइतबार प्रति व्यक्ति जनही ५०/५० लाख धरौटी माग गरेकोमा अदालतको आदेश बमोजिमको धरौटी राख्न नसकेपछि पुर्पक्षका लागि कारागार चलान भएको बताइएको छ। सो सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संस्थाका पूर्वकोषाध्यक्ष रामकृष्ण पौडेल २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

प्राप्त जानकारी अनुसार,  कारागार चलान भएका भण्डारी तत्कालीन लालमटिया गाविस- ८ को वडाध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए । त्यस्तै उनी तत्कालीन नेकपा हुँदा राप्ती गाउँपालिका इञ्चार्ज र पार्टीको जिल्ला सदस्य थिए । त्यस्तै ज्ञवाली एमालेका संगठित सदस्य र राप्ती गाउँपालिका वडा नं. २ सक्रिय सदस्य हुन् ।

जिल्ला अदालत दाङका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले दिएको जानकारी अनुसार, साविकको महाप्रभु सहकारी संस्थासहित अन्य तीन वटा सहकारी संस्था मर्ज भएर हाल देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालन भइरहेको छ । भण्डारी र ज्ञवाली दुवै महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा चार जना कर्मचारीलाई यसअघि नै दाङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

प्रतिक्रिया