ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ नमान्न विश्व स्वास्थ्य संगठनको चेतावनी

ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ नमान्न विश्व स्वास्थ्य संगठनको चेतावनी


  • जन संचार
  • शुक्रबार, २३ पुष २०७८
  • 3.6K
    Shares

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ नमान्न चेतावनी दिएको छ।

डब्लूएअचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले कोरोनाको ओमीक्रोन भेरिएन्टले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराउदै ओमीक्रोन संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको तर्फ औंल्याए।

सोमबार अमेरिकामा २४ घण्टाको अन्तरमा १० लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । डब्लूएचओका अनुसार पछिल्लो हप्तामा विश्वभर ७१ प्रतिशतले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको र अमेरिकामा यो सङ्ख्या १०० प्रतिशत रहेको छ । गम्भीर बिरामीहरूमध्ये ९० प्रतिशत खोप नलगाएकाहरू छन् ।

‘खोप लगाएका मानिसमा डेल्टाको तुलनामा ओमिक्रोन कम घातक रहेको पाइएको छ।  तर यसलाई ‘माइल्ड’ नै भनेर वर्गिकरण गर्न मिल्दैन,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. टेड्रोसले भने, ‘पहिलाका भेरियन्टजस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पतालमा भर्ना गरिरहेको छ, ज्यान लिइरहेको छ । सङ्क्रमितको सुनामी यति ठूलो र तीव्र छ कि यसले विश्वभरकै स्वास्थ्य व्यवस्थालाई तहसनहस बनाउँदैछ ।’

ओमिक्रोन निकै सङ्क्रामक रहेको छ र यसले खोप लगाएका मानिसलाई पनि सङ्क्रमित गर्न सक्छ । तर, खोपले गम्भीर बिरामी बनाउनबाट भने रोक्ने बताइएको छ । बिहीबार बेलायतमा १ लाख ७९ हजार ७५६ जना सङ्क्रमित थपिएका छन् भने २३१ जनाले ज्यान गुमाएका छन् । विश्वका अन्य देशहरूमा पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा व्यापक वृद्धि भइरहेको छ । डेल्टाले आईसीयूमा दबाब बढेको थियो भने ओमिक्रोनले जनरल बेडहरूमा दबाब बढेको बताइएको छ ।

प्रतिक्रिया