रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु
भारतमा भएको सैनिक हेलिकप्टर दुर्घटनामा भारतीय सुरक्षा प्रमुख (सीडीएस) विपिन रावतलगायत १३ जनाको मृत्यु भएको छ । बुधबार दिउंसो भारतीय सेनाको आईएएफ एमआई १७ भी हेलिकोप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउंमा दुर्घटना हुंदा रावतसहित १३ जनाको मृत्यु भएको हो । रावतसंगै उनकी पत्नी मधुलिका रावतको समेत मृत्यु भएको भारतीय एयर फोर्सले जनाएको छ ।
जनरल रावत विलिंटनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अधिकृतहरुलाई सम्बोधन गर्न त्यसतर्फ गएका थिए । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्न आदेश दिएको छ ।रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन । उनलाई गत जनवरीमा उक्त पदमा नियुक्त गरिएको थियो । उनि भारतीय थल सेनाको २७ औं सेनाअध्यक्ष हुन ।
रावतको सत्तारुढ दल विजेपीसंग नजिकको सम्बन्ध थियो ।जनरल रावतले यसअघि सेनाअध्यक्ष हुंदा नेपालको भ्रमण समेत गरेका थिए । रावत नेपाललाई निकै माया गर्ने भारतिय सैनिक अधिकारीका रुपमा चिनिन्छन् । उनी सेनामा हुंदा गोर्खा राइफल कमाण्डको कमाण्डर समेत थिए । रावत नेपालसंग सिमा जोडिएको उत्तराखण्ड राज्यको पउरीमा जन्मिएका हुन ।
उनका बुवा लक्ष्मणसिंह रावत समेत भारतिय सेनाको तीन तारे जनरल थिए ।रावत १९७८ मा भारतिय सेनाको ५ औं बटालियनअन्र्तगतको ११ औं गोर्खा राइफलमा भर्ना भएका थिए । उनि नेपाली सेनाको मानार्थ प्रधानसेनापति समेत थिए । रावत १९७८ मा भारत चीनको बीचमा भएको सुमडोरोंग चु उपत्यकामा भएको लडाईमा समेत सहभागी बनेका थिए ।उनले २०१७ मार्च र २०१८ फेब्रुररीमा नेपालको भ्रमण गरेका थिए । रावतले गत वर्ष नेपाल भ्रमणमा आउने ईच्छा गरेपछि सरकारले उनको भ्रमणको लागी स्विकृती दिएको थियो ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गत बैशाख ९ गते उनको भ्रमणका लागी स्विकृती दिएको थियो । रावतले मुक्तिनाथ भ्रमणमा जाने इच्छा व्यक्त गरेपछि सेनाले उनलाई निमन्त्रणा पठाएको थियो । पछि कोराना भाइरसको महामारी बढेपछि उनको भ्रमण अन्तिम समयमा आएर रद्द भएको थियो ।दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको बताइएको छ ।