बिदेशी डाक्टरको परिचय दिएर एक करोड २२ लाख ठगी गर्न सहयोग गरेको आरोपमा थप एक जना महिला पोखराबाट पक्राउ परेकी छिन। महानगरीय अपराध महाशाखाको टोलीले पोखराबाट दानुमाया गुरुङलाई शुक्रबार पोखराबाट पक्राउ गरेको हो। उनलाई आबश्यक अनुसन्धानका लागि प्रहरीले काठमाण्डौ लागेको छ।
प्रहरीले बुधबार र बिहीबार मात्रै अनलाइनमार्फत् एक करोड २२ लाख ठगी गरेको आरोपमा पोखरा महानगरपालिका–१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं–१३ ताहचलका २८ वर्षीय रोजन भुजेललाई पक्राउ गरेको थियो।
प्राप्त समाचार अनुसार, संयुक्त राष्ट्रसंघीय नियोगमा काम गर्ने एक महिलालाई विभिन्न प्रलोभन देखाएर चार महिनाको अवधिमा एक करोड २२ लाख रुपैयाँ ठगिएको थियो। आफूलाई डाक्टर बेन्जामिन फ्रांकलिन भनेर चिनाउने ती व्यक्तिले राष्ट्रसंघीय नियोगमा काम गर्ने एक महिलालाई फेसबूकमा ‘साथी’ बनाएका थिए। बेलायती नागरिक बताउने ती व्यक्तिले आफू प्लाष्टिक सर्जन भएको र एक हप्ताको कोर्सका लागि मलेसिया आउँदा रकम लुटिएको भन्दै नियोगकी महिलासँग अनलाइनमार्फत् सहयोग मागेका थिए।
रकम निकाल्न एटीएम बुथमा जाँदा आफू लुटिएको र अहिले रकम सहयोग गरेर बेलायत पुगेपछि दोब्बर फिर्ता गर्ने आश्वासन डाक्टर बताउने व्यक्तिले दिएका थिए। सोही लोभमा पटक–पटक गर्दै ती महिलाले एक करोड २२ लाख रुपैयाँ पठाएकी थिइन्।
रकम पठाउन तयार भएपछि नेपालमै रहेका केही व्यक्तिको बैंक खाता नम्बर समेत दिइएको थियो। त्यसपछि ती महिलाले भण्डारी, भुजेल लगायतको बैंक खाता नम्बरमा पैसा पठाएको अनुसन्धानबाट खुलेको थियो। उक्त रकम नेपालबाट संकलन गरेर भारत पठाउने काम दानुमाया गुरुङले गरेको पाइएको महाशाखाले जनाएको छ। नेपालमा बसेर ठगीको मध्यस्थकर्ताको भूमिका निभाएपछि उनलाई पक्राउ गरिएको महाशाखा स्रोतले जानकारी दियो।
हाल पक्राउ परेकी महिलाले मात्रै ७८ लाख रुपैयाँ संकलन गरेको र संकलित रकममध्ये भारतको एसबीआई बैंकमा भारु २३ लाख रुपैयाँ पठाएको अनुसन्धानबाट खुलेको छ।
हाल पक्राउ परेकाहरुलाई प्रयोग गरेर ठगी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। त्यसमध्ये हाल पक्राउ परेकाहरुले केही प्रतिशत कमिसन पाउने लोभमा ठगीका योजनाकारले भनेअनुसार काम गर्ने गरेको प्रहरीले जनाएको छ। आफूलाई डाक्टर बेन्जामिन भएको बताउने व्यक्ति मलेसिया नभएर भारतमा भएको हुनसक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार दोब्बर रकम पाउने आशमा १ करोड २२ लाख रुपैयाँ रुपैयाँ फसेपछि पीडित महिला प्रहरीमा पुगेकी थिइन्। ती महिलाको उजुरीपछि ठगीको रहस्य बाहिरिएको हो।