छिमेकी राष्ट्र भारतमा पनि कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’का संक्रमित फेला परेका छन् । विहीबार (आज) भारतको स्वास्थ्य मन्त्रालयले कर्नाटकमा दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको जनाएको हो ।
मन्त्रालयका अनुसार ६६ र ४६ वर्षीय दुई जना पुरुषमा कोरोनाको ओमिक्रोन भेरियन्ट फेला परेको हो । उनीहरुको कन्ट्याक ट्रेसिङको कामसमेत भएको र अन्यको स्वास्थ्य परीक्षण गरिएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतको गृह मन्त्रालयका सचिव लव अग्रवालले जेनोम सिक्वेन्सिङ पत्ता लगाइएको जनाएका छन् । उनले ओमिक्रोन संक्रमित दुवै जनामा गम्भीर लक्षण भने नदेखिएको जनाएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वमै सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा पाँच गुणा बढी खतरनाक भएको बताएको छ। यसको संक्रमणदर अत्यधिक रहेको बताइएको छ।
पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन एकसाताको अवधिमै २४ मुलुकमा पुगेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ भेरियन्ट बी.१.१.५२९ लाई ‘भेरियन्ट अफ कन्सर्न’मा राखेको छ । यद्यपि कति घातक छ ? खोपको प्रभावकारिता कति रहन्छ भन्ने अझै अध्ययनकै क्रममा छ । तर झण्डै ५० वटा म्यूटेसन देखिएकाले अरु भेरियन्टभन्दा घातक हुनसक्ने आशंका अध्ययनकर्ताहरुको छ । त्यसमध्ये झण्डै ४२ वटा म्यूटेसन चाहिँ स्पाइक प्रोटिनमा देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. रुना झाले जानकारी दिइन् ।
स्पाइक प्रोटिन भनेको भाइरसको माथिल्लो सतहमा हुने काँडा जस्तो बनोट हुन्छ, जसको सहायताले कोरोना हाम्रो शरीमा प्रवेश गर्छ । भ्याक्सिन पनि यही स्पाइक प्रोटिनलाई लक्षित गरी बनाइएको हुन्छ । स्पाइक प्राटिनमा धेरै बदलाव आएर मानव शरीरमा सहजै प्रवेश गर्ने त होइन भन्ने चिन्ता देखिएको उनले बताइन् ।
त्यही कारण थ्रुपै देशले यात्रा प्रतिबन्ध लगायतका नियन्त्रणमुखी कदम चालेका छन् ।
नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अनुरोध गरेको छ । दक्षिण अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने अरु देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
जनस्वास्थ्यविद्हरु भने संक्रमण नआएको यो समयलाई पूर्व तयारीमा खर्चिनुपर्ने बताउँछन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोपहरु तथा संक्रमणका कारण मानव शरीरमा विकास भएको इम्युनिटी पावरलाई बाइपास गर्ने क्षमता देखिए ओमिक्रोन तेस्रो लहरको कारक बन्नसक्ने उनीहरुको चिन्ता छ ।