माल्दिभ्समा रहेको भारतीय सेना हटाउन माग गर्दै राजधानी मालेमा भारतविरोधी बिशाल प्रदर्शन गरिएको छ । भारतीय सैन्य उपस्थितिलाई लिएर मालेमा भएको यो वर्षको दोस्रो विशाल प्रदर्शन हो ।
शुक्रबार भएको उक्त प्रदर्शनमा प्रदर्शनकारीहरुले भारतसंग भएको सैन्य सम्झौता तत्काल खारेज गरेर माल्दिभ्सबाट बिनाशर्त तत्काल भारतीय सेना हटाउन माग गरे । त्यस्तै उनीहरूले राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, रक्षामन्त्री मारिया दीदी र विदेशमन्त्री अब्दुल्ला शाहिद एसीको राजीनामा समेत माग गरे ।
विपक्षी गठबन्धनले आयोजना गर्दै आएको ‘माल्दिभ्सको रक्षा’ अभियानअन्तर्गत पछिल्लो प्रदर्शन भएको बताइएको छ । शुक्रबारको प्रदर्शनमा विपक्षी गठबन्धनका सबैजसो नेतृत्व, माल्दिभ्स क्रान्तिकारी आन्दोलनका सदस्यहरू र सेवानिवृत्त वरिष्ठ सैन्य र प्रहरी अधिकारीहरूको उपस्थितिलाई विशेष अर्थपूर्ण ठानिएको छ ।