राष्ट्र बैंकद्वारा हिमालयन, प्रभु र नेपाल बंगलादेश बैंकलाई कारबाही

राष्ट्र बैंकद्वारा हिमालयन, प्रभु र नेपाल बंगलादेश बैंकलाई कारबाही


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ कार्तिक २०७८
  • 5.6K
    Shares

नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र एसएलआर कायम नगर्ने तीन वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ ।हिमालयन बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकलाई वैधानिक तरलता अनुपातअनुसार मौज्दात रकम नपुर्‍याएको भन्दै राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।

विभागले ती बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकको नियम पालना नगर्ने ८ वणिज्य बैंक कारबाहीमा परेका छन् । ती बैंकहरुलाई राष्ट्र बैंकले नगद जरिवाना तथा सचेत गराएर कारबाही गरेको हो ।

१२ महिनामा आठ वाणिज्य बैंक कारबाहीमा परे

प्राप्त जानकारी अनुसार, गत आर्थिक वर्षको पहिलो त्रैमासमा सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले लक्ष्मी बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धमा नियम पालना नगरेको राष्ट्र बैंकको भनाइ छ ।

यस्तै, दोस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई र राष्ट्रिय बाणिज्य बैंक कारबाहीमा परेका छन् । तीमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंक दुई पटक कारबाहीमा परेको छ । प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशित कर्जा प्रवाह नगरेको र अन्य गरी दुई विषयमा सो बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशित कर्जा प्रवाह नगरेबापत स्ट्याण्डर्डलाई ५७ लाख ८४ हजार रुपैयाँ जरिवाना गरिएको छ । अन्य विषयमा बैंकलाई सचेत मात्र गराइएको छ । सोही त्रैमासमा अन्य शिर्षकमा ग्लोबल आइएमई र राष्ट्रिय बाणिज्य बैंक पनि कारवाहीमा परेका हुन् । ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्र बैंकले सिभिल बैंकलाई २ पटक र प्रभु बैंकलाई एक पटक कारबाही गरेको छ । जसमा सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन पालना नगरेको विषयमा १० लाख रुपैयाँ जरिवाना गरिएको छ । ऋणीसँग अप्रत्यक्ष रुपमा कारोबार गरेको पाइएकाले संस्थागत सुशासन उल्लंघन गरेको भन्दै सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई आदेश दिइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, प्रभु मनी ट्रान्सफर र प्रभु बैंकबीच रेमिट्यान्सको अनौपचारिक कारोबार भएको पाइएकाले बैंकका तत्कालीन अध्यक्ष देबीप्रकाश भट्टचन, सञ्चालक द्वय शंकर कालिकोटा र रमेश सिंह खड्का, तत्कालीन सञ्चालक त्रय अम्बिका प्रसाद लामिछाने, पुष्पबहादुर प्रधान र दक्ष पौडेलसहित हालका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । प्रभु मनी ट्रान्सफरले रेमिट्यान्सस्वरुप देश बाहिर संकलन गरेको विदेशी मुद्रा नेपाल नल्याएर उतै राखेको र प्रभु बैंकबाट कर्जा लिएर रेमिट्यान्स भुक्तानी गरेको पाइएको जनाउँदै राष्ट्र बैंकले कारबाही गरेको हो ।

प्रतिक्रिया