देशभित्र रहेको अन्तर्द्वन्द्व समाप्त गर्ने नाममा अफगानिस्तान छिरेको अमरिकी सेनाले समस्या समाधान नहुदै अफगानिस्तान छाडे लगत्तै इराक पनि ह्हड़ने घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने घोषणा गरेका छन्। इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले त्यस्तो घोषणा गरेका हुन्। अद्यापि उनले थोरै संख्यामा इराकमा रहने अमेरिकी सेनाले इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह दिने जानकारी दिए।
हाल इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमी अमेरिकाको भ्रमणमा छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनको इराकी प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भेटवार्ता भएको थियो।
इराकमा हाल २ हजार ५०० जना भन्दा बढी अमेरिकी सैनिक रहेका छन् । इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतंककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ ।हाल इराकमा रहेका अमेरिकी सैनिकहरूले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेको बताइएको छ ।
गत वर्ष इराकको राजधानी बग्दादमा अमेरिकी सेनाले ड्रोन हमला गर्दा एकजना उच्च इरानी सैन्य जनरल कासिम सुलेमानी र इरानको समर्थन पाएको शिया मुस्लिम मिलिसिया समूहका एक जना नेता मारिएका थिए । त्यसयता इराकमा अमेरिकी सेनाको झन् ठूलो विरोध भएको थियो । यहाँका राजनीतिक दलहरूले अमेरिकी नेतृत्वमा आईएसविरुद्ध लड्ने अन्तर्राष्ट्रिय फौज हट्नुपर्ने माग गरिरहेका छन् ।
समरणहोस्, तात्कालिन अवस्थामा तालिवान बिद्रोहीहरुको सरकारलाई सत्ताच्युत गर्न अफगानिस्तान छिरेको अमेरिकी सैनिकले तालिवानलाई सत्ताच्युत गरेर आफ्नो कठपुतली सरकार बनाएको थियो। तर अहिले अफगानिस्तानमा तालिवान विद्रोहीको दबदबा चलिरहेको छ। तर अमेरिकी सेनाले त्यहाँको सरकारलाई समेत जानकारी समेत नदिई अफगानिस्तान छाडेको छ।