बैंकिङ कसुर मुद्दामा दोषी ठहर भै सजाय पाएर पनि फरार रहेका दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१६ घर भइ हाल काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका–१५ तीनथाना बस्ने ५५ वर्षको गोपालप्रसाद ढुंगेल र चितवनको भरतपुर महानगरपालिका ११ का भरतराज खनाल रहेका छन्।
ढुंगेललाइ चितवनको रत्ननगर नगरपालिका–११ जिरौनाबाट र खनाललाई भरतपुर ९ शरदपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ढुंगेललाई उच्च अदालत पाटनले गत चैत्र २२ गते बैंकिङ कसुर मुद्दामा दुई करोड ५६ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजायँ तोकेको थियो भने खनाललाई उच्च अदालत पाटनले २०७७ फागुन ३ गते बैंकिङ कसुर मुद्धामा ८ दिन कैद र २२ लाख जरिवाना तोकेको थियो ।
चितवनमा लुकीछिपी बस्ने गरेको सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास र निगरानी बढाएकोमा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी सूर्य थापाले जानकारी दिए। उनीहरुलाई बाँकी कानूनी प्रक्रियाका लागि जिल्ला दलात चितवनमा बुझाइएको प्रहरीले जनाएको छ।