अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका आठ व्यवसायीबाट जिल्ला प्रशासन कार्यालय कास्कीले साढे पाँच लाख रुपियाँ जरिवाना असुलेको छ।
बजार अनुगमनका क्रममा उपभोक्ताको हित विपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार पोखराका ८ व्यावसायिक फर्मलाई कारबाही गरेर साढे पाँच लाख रुपियाँ जरिवाना असुलेको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट आएको निर्देशकसहितको टोलीले आइतबार पोखरामा बजार अनुगमन गरेको थियो। टोलीले पोखरा महानगरपालिका क्षेत्रभित्रका प्रशोधित खानेपानी उत्पादक, निर्माण सामग्री बिक्रेता, औषधी बिक्रेता, बेकरी उद्योग, फ्रेस हाउससमेतका केही उद्योग प्रतिष्ठानमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा ती प्रतिष्ठानहरुमा बिल बिजक जारी नगरेको, उपभोग्य म्याद नाघेको वस्तु बिक्रीमा राखेको, कानुन बमोजिम दर्ता नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको भेटिएपछि पभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना तोकिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । अनुगमनका क्रममा सामान्य कमजोरी भएकालाई तत्काल सुधार गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ ।
अनुगमनमा केन्द्रबाट आएको टोलीसहित जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय पोखरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पोखरा एवं राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिको संलग्नता थियो ।