तान्त्रिकका लागि शरीरका अंग महँगोमा बिक्री हुने लोभमा कपिलवस्तुमा एक महिलाको हत्या भएको छ भने हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरेको छ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–५ बुडन्तपुरस्थित माइतीघरमा विगत १२–१३ वर्षदेखि बस्दै आएकी सरजहाँ दर्जीको हत्या भएको हो । उनको शव हातका औंलाहरु नभएको अवस्थामा गत चैत १२ गते बेतिया नदीमा फेला परेको थियो ।
अब्दुल कलाम र बेलाल अहमदले फोन गरेर बोलाई बेतिया नदी छेउको चौरमा ती महिलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । त्यसपछि शवलाई बोरामा राखेर नदीमा फालेको पाइएको प्रहरीले जनाएको छ ।
महिलाका हातका औंलाहरु प्रतिऔंला ७०/८० लाख रुपैयाँमा बिक्री हुने विश्वासमा दर्जीको हत्या गरेर औंलाहरु काटेर लगेको पाइएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले बताए ।
‘मृतकका हातका औंलाहरू बिक्री वितरण गर्ने प्रयोजनको लागि विभिन्न व्यक्तिहरुलाई दिइसकेको अवस्थामा हत्यामा संलग्नसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
यो घटनामा संलग्न भएको आरोपमा शुद्धोधन गाउँपालिका–२ नन्दनगरका ३९ वर्षीय अब्दुल कलाम मुसलमान, बेलाल अहमद मुसलमान, शुद्धोधन गाउँपालिका–५ शिवालवाका ४५ वर्षीय कृष्ण कुर्मी, शुद्धोधन–५ बिसुनपुराका ५५ वर्षीय रामहरक यादव, रुपन्देही सैनामैना नगरपालिका–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी मध्यबिन्दु नगरपालिका–७ घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका–९ शिवनगर डेरा गरी बस्ने ६७ वर्षीय खेमबहादुर मल्ल छन् । उनीहरुको साथबाट हत्या गरिएकी महिलाका हातका औंलाहरु बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।