पौने आठ लाख रुपैयाँ बराबरको नेपाली तथा भारतीय नगदसहित बीरगंजबाट एक हुण्डी कारोबार कम्पनीका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–२३ घर भै वीरगन्ज महानगरपालिका–६ स्थित जय माँ अम्बे ट्रेडर्सका संचालक ३८ वर्षीय जयराम राउत कुर्मी रहेका छन् ।
अवैध हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहबाट खटिएको प्रहरी टोलीले उनलाई जय माँ अम्बे ट्रेडर्सबाट पक्राउ गरेको हो। प्रहरीले त्यहाँबाट स्रोत नखुलेको नेपाली रुपैया नगद सात लाख ७५ हजार चार सय ७० तथा सात हजार चार सय भारतीय रुपैयाँसहित कर्मचारी कुर्मीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । ट्रेडर्सका सञ्चालक भने फरार रहेका छन् ।
खनालका अनुसार कुर्मीको साथबाट प्रहरीले बब्लू राजको नाममा जारी भएको रु दुई लाख एवं रामप्रसाद पटेलको नाममा जारी भएको पांच लाख साठी हजार बराबरका चेक समेत बरामद गरिएको छ ।
बरामद गरिएको नगद, चेकबुकसहित नियन्त्रणमा लिइएका कुर्मीलाई जिल्ला प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्दा निजले दिएको बयानको आधारमा उक्त ट्रेडर्सबाट थप तीन करोड ५६ लाख ३१ हजार एक सय चार रुपैया गरि तीन करोड ६३ लाख ९१ हजार १ सय ४ रुपैया बराबरको विभिन्न निजी व्यक्तिको नाममा जारी भएको ९० थान चेक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।