परिवारका सदस्यलाई अपहरण गरी मोटो रकम माग गर्ने तीन जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका-६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार, उनीहरुले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१८ निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबार दिउँसो करिब १ः३० बजे अपहरण गरी बन्धक बनाएका थिए। उनीहरुले फिरौतीका रुपमा परिवारजनसंग १० लाख फिरौती माग गरेको बताइएको छ।
प्रहरीले बन्धक बनाइएका सुभाषलाई २ घण्टाभित्र नै सकुशल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जानकारी दिए ।
पक्राउ परेका तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको प्रहरीले जनाएको छ।