बिद्रोही ने.क.पा. को मुस्ताङ जिल्ला इन्चार्ज फिल्टरलाई प्रहरीले म्याग्दीबाट पकाउ गरेको छ । पार्टी कामको सिलसिलामा रहेका भनिएका उनलाई प्रहरीले म्याग्दीको मालिका गाउँपालिकाको रूम गाउँबाट बिहीबार दिउँसो ४ : ३० मा पक्राउ गरेको हो ।
इन्चार्ज फिल्टर गाउँपालिकाको एक विद्यालयमा शिक्षक कर्मचारीहरुसँग छलफल गरिरहेको बेला प्रहरीले पक्राउ गरिएको बिद्रोही ने.क.पा. स्रोतले जानकारी दिएको छ । म्याग्दीको रुम निवासी पदमबहादुर पुन पार्टीमा फिल्टर भनेर चिनिने गर्छन। उनलाई अहिले बेनी ल्याउदै गरेको बताइएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार, मुस्ताङ जिल्ला इन्चार्ज पक्राउ गरिएको स्थान म्याग्दीको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलोग्राम ८५० ग्राम गाँजासहित प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले गाँजा र पुनलाई नियन्त्रणमा लिएको हो । बोराभित्र हालेर बाख्राको खोरमा लुकाई राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । बिहीबारनै बेनी स्थित जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएका पुनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जानकारी दिएको छ।
गाँजासहित पक्राउ गरिएका होमबहादुर पुन नै बिद्रोही ने.क.पा.को मुस्ताङ्ग जिल्ला इन्चार्ज फिल्टर हुन् या अर्कै व्यक्ति हुन्। प्रहरीले खुलाएको छैन।
स्मरण रहोस, गाई काटेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार प्रमुख ५८ वर्षीय गजेन्द्र पुन (जगत) को पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो। म्याग्दीको रुम निवासी उनको शब् अहिले पनि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शब गृहमा रहेको छ।
थुनुवा अबस्थामा रहेका वन्दीको प्रहरी प्रशासनको वेवास्ताका कारण समयमै उपचार नपाएर मृत्यु हुन पुगेको मृतक पुनका परिवारले बताएका छन् ।