कास्कीको रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्टले कोरोना महामारी जस्तो विषम परिस्थितमा बिनाकारण मजदुर निकालेकोमा नेपाली कांग्रेसको भात्री संगठन ट्रेड युनियन कांग्रेस कास्कीले आपत्ति जनाउदै संघर्षका कार्यक्रमहरु गरिरहेको छ।
सोही क्रममा ट्रेड युनियन कांग्रेस कास्कीले आज कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालसमक्ष निष्कासित मजदुरको पुनर्बहाली गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाएको छ। युनियन कास्कीका अध्यक्ष विजयराज भण्डारीको अगुवाइमा पूर्व केन्द्रीय वरिष्ट उपाध्यक्ष रामजी कुँवर, युनियन अगुवाहरु कमल सापकोटा, रुद्ध तिमिल्सिना लगायतको टोलीले सो ज्ञापन पत्र वुझाएको हो ।
ट्रेड युनियन कांग्रेस कास्कीले कोरोना महामारीका समयमा पनि बिना कारण रुपाकोट रिसोर्टले सोही रिसोर्टमा कार्यरत मजदुर हरिवहादुर थापालाई निष्कासन गरिएकोमा आपत्ति जनाएको छ। ट्रेड युनियन कांग्रेसले निष्काशित थापाको पुनर्बहालीको माग राख्दै श्रम कार्यालयदेखि प्रशासनसम्म उजुरी दिन पुगेको छ।
ज्ञापन पत्र वुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आवस्यक छलफल गरी समस्याको समाधान खोजिने आश्वासन दिएका छन् । उनले अप्ठेरो अवस्थामा श्रमिकको रोजीरोटी खोसिनु गलत भएको वताउँदै सो वारे थप जानकारी लिने वताए ।
सो अवसरमा वोल्दै नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले कोरोनाको समयमा निर्दोष कर्मचारीलाई होटलले निकाल्नु दुःखद भएको वताउँदै तत्काल पुर्नवहाली गर्न रिसोर्ट व्यवस्थापन सँग माग गरेका छन् ।
ज्ञापन पत्रमा नेपाल ट्रेडयुनियन कांग्रेस राष्ट्रिय समिति, गण्डकी प्रदेश समिति, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी, श्रम तथा रोजगार कार्यालय गण्डकी प्रदेश, जिल्ला प्रहरी कार्यालय कास्की र स्वयं रुपाकोट रिसोर्ट प्रालिलाई वोधार्थ पठाइएको नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जानकारी दिएका छन् ।