वागलुङमा एक व्यक्तिले जथाभावी कोदालो प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ भने अरु पांच जना घाइते भएका छन्।
प्रहरीका अनुसार, बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार सोमबहादुर किसानले जथाभावी कोलादो प्रहार गरेका थिए। कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ भने कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ।
अन्य घाइते ३८ वर्षीया देवी गौतम, उहाँका छ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।
कोदालो प्रहार गर्ने किसानको मानसिक सन्तुलन ठिक अवस्थामा नरहेको प्रहरीले जानकारी दिएको छ। उनलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको प्राप्त समाचारमा जनाइएको छ।