आफुहरु मोटर्सपार्टस र वर्कसप संचालक हुँ भन्दै चितवनको नारायणगढमा बोलाएर तनहुँकी महिलालाई लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका अभियुक्तहरुमा भरतपुरको बाह्रघरे बस्दै आएका ३२ वर्षीय बिकल क्षेत्री र २९ वर्षका सन्तोष विश्वकर्मा रहेका छन् ।
प्रहरीका अनुसार, उनीहरु मध्ये बिकल क्षेत्रीले आफु मोटर्सपार्टस र वर्कसप संचालक हुँ भन्दै तनहुँकी ३९ बर्षिय महिलालाई ललाई फकाई गरी माघ २४ गते तनहुँबाट चितवन बोलाएका थिए। क्षेत्रीले ती महिलालाई अटोमा विभिन्न ठाउँमा घुमाईफिराई भरतपुर महानगरपालिका ३ कमलनगर स्थित एकान्त स्थल (चउर) मा लगि ज्यान लिने धम्की समेत दिएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनिहरुले ती महिलाको साथमा रहेको सुनको झुम्का, सिक्री, ब्रासलेट, औंठी, घडी , २ वटा मोवाइल र नगद सत्र हजारसहित पाँच लाख त्रिसठ्ठी हजार दुइ सय पचास रुपैया बराबरको धनमाल लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिए । क्षेत्रीले लुटेका सुनका झुम्काहरु विश्वकर्मालाई बिक्रि गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढको टोलीले महिलाको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ । अहिले उनको अवस्था सामान्य छ । पक्राउ परेकाहरुलाई हिरासतमा राखि चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको थापाले बताए ।