सर्वोच्च अदालतको आदेशपछि रिहा भएलगत्तै नेत्रविक्रम चन्द ‘विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सचिबालय सदस्य धर्मेन्द्र बास्तोलालाई प्रहरीले फेरी गिरफ्तार गरेको छ। उनीविरुद्ध महानगरीय प्रहरी वृत्त कमलपोखरी लगायत ठाउँमा उजुरी परेको भन्दै अदालत परिसरबाटै गिरफ्तार गरिएको हो ।
सर्वोच्चका न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई बिहीबार रिहाईको आदेश गरेको थियो । नेता बास्तोला गिरफ्तार भएपछी हिमा बास्तोलाले सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेकी थिइन्।
सर्बोच्च अदालत परिसरबाटै फेरी गिरफ्तार गरिएका नेता बास्तोलालाई मालीगाउँस्थित महानगरीय प्रहरी वृत्तमा राखिएको प्रहरीले जानकारी दिएको छ।
महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार बास्तोलाविरुद्ध यसअघि महानगरीय प्रहरी वृत्त कमलपोखरी पनि उजुरी परेको थियो । चन्द समूहमाथि लागेको प्रतिबन्धपछि भएका हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा बास्तोलाविरुद्ध कमलपोखरीसहित जिल्ला प्रहरी कार्यालय सुनसरीलगायत स्थानमा परेको जाहेरी विचाराधीन रहेको प्रहरी स्रोतको भनाइ छ ।
बास्तोला यसअघि ललितपुरको दक्षिणी भेग वाग्मती गाउँपालिकाबाट पुस २९ गते पक्राउ परेका थिए । उनीसंगै रहेका अन्य तीन जना पनि अझै प्रहरी हिरासतमा छन्म। तर उनीहरुसंगै रहेका पार्टी प्रबक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ उपत्यका बिशेष ब्युरो इन्चार्ज चिरन पुन, अखिल (क्रान्तिकारी)का महासचिब प्रेमबहादुर शाहीले भने घेरा तोड्न सफल भएको समाचार स्रोतको दाबी छ।