प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार माधव शर्मा र उहाँका धर्मपत्नी गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मालाइ कोरोना संक्रमण देखिएको छ।
आफुलाई कोरोना संक्रमण भएको आशंका लागेपछि सोमबार स्वाब परिक्षणका लागि दिएका पत्रकार शर्माको आज विहान रिपोर्ट पोजिटिभ आएको बताइएको छ। उनी अहिले काठमाडौँस्थित आफ्नै घरमा आइशोलेशनमा बसिरहेका छन्।
यसैगरी पत्रकार शर्माकि धर्मपत्नी रहेकी गण्डकी प्रदेशसभाका उपसभामुख शर्माको पनि आज विहान कोरोना परीक्षण नतिजा पोजिटिभ आएको हो । दुई दिन अघि ज्वरो आएपछि परीक्षणका लागि नमूना दिएकामा आज कोरोना पोजिटिभ आएको शर्माले जानकारी दिएकी छिन। प्रदेश उपसभामुख भने पोखरास्थित निवासमा आइशोलेसनमा रहेको प्राप्त समाचारमा जनाइएको छ। हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको शर्माले जानकारी दिएकी छिन् ।
यसैबीच कान्तिपुरकर्मी दिपक परियार र रेडियो पश्चिम पोखराका कार्यकारी निर्देशक मोतिसागर अधिकारीलाई पनि कोरोना संक्रमण पोजिटिभ भएको समाचार सार्वजनिक भएको छ।
कान्तिपुरकर्मी दिपक परियारले साथीभाई हुँदै आफ्नो घरमा पनि कोरोना संक्रमण भित्रिएको आफ्नो फेसबुक स्टाटसमार्फत सार्वजनिक गरेका छन्। उनले आफ्नो घरकी आमा र श्रीमतीलाई कोरोना संक्रमण देखेको सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन्। तर आफुहरुलाई के कसरी कोरोना संक्रमण भयो भन्ने बारेमा अनविज्ञता प्रकट गर्दै सामान्य रुघाखोकी लागेको साथी भनेर ख्याल नगर्दा साथीबाट आफुहरुलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका पत्रकार परियारले गरेका छन्।
पत्रकार दिपक परियारले अघि लेखेका छन्
साथीभाइ, इष्टमित्र, कार्यालय हुँदै अन्ततः कोरोना घरभित्रै प्रवेश गरेको छ ।
कात्तिक १६ मा श्रीमतीको शरीर दुःख्यो । अलि दिनमा गन्ध र स्वाद पनि हराएपछि कात्तिक २० मा उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखियो । उनी होम आइसोलेसनमै थिइन् । कात्तिक २२ मा मलाई पनि सुख्खा रुघासँगै गन्ध र स्वाद हराउने भयो । आमालाई पनि त्यस्तै लक्षण देखिएपछि २३ गते स्वाब दियौं । आज आएको रिपोर्टअनुसार आमा र मलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । घरमा अरुलाई भने लक्षण नदेखिएकोले परीक्षण गरिएको छैन । छोरी विपश्यनालाई पनि कुनै लक्षण छैन । स्वाद र गन्ध हराउने बाहेक हामीलाई पनि अन्य लक्षण छैन । हामी होम आइसोलेसनमै छौं ।
यो भाइरस कहाँबाट हामीसम्म आइपुग्यो भन्नेमा अनविज्ञ छौं । सायद रुघा खोकी बोकेर हाम्रो सम्पर्कमा आएका मान्छेलाई हामीले शंकाको दृष्टिले हेरेनौं । साथीभाइ, इष्टभित्र जोसँग हामी नजिक छौं, उनीहरुलाई थोरै शंकाको दृष्टिले हेर्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नुपर्दो रहेछ ।
बाहिर निस्कन नपाउने बाहेक अरु दिनचर्यामा खासै फरक परेको छैन । सक्दासम्म घरमै बसेर काम गर्ने र नसक्दा आराम गर्ने सोचमा छु । कोरोना भाइरस छिट्टै शरीरबाट निस्कने वातावरण बनाएर फेरि पहिलेकै दिनचर्यामा फर्किनेछौं तर अलि बढी सजग भएर ।