टेलीफोन गरी धम्क्याएर तीन करोड रुपियाँ चन्दा माग्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेका अभियुक्तहरुमा नुवाकाेट ककनी गाउँपालिका–०२ का ३३ वर्षीय बिन्तोष सिलवाल, रामेछाप सुनापती गाउँपालिका–३ का ३१ वर्षीय रामदल श्रेष्ठ, काभ्रे तिमाल गाउँपालिका–०५ का ५२ वर्षीय तिर्थमान तामाङ र चितवन भरतपुर महानगरपालिका–१३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेको प्रहरीले जनाएको छ।
उनीहरुलाई काठमाण्डौस्थित महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको विशेष प्रहरीकाे टोलीले साेमबार पक्राउ गरेकाे हाे ।
महानगरीय प्रहरी परिसर, काठमाडाैं हिरासतमा राखिएका उनीहरूबिरुद्ध प्रहरीले आपराधिक लाभ लिन नहुने कसुरमा मुद्धा दर्ता गरी काठमाडाैं जिल्ला अदालतबाट ३ दिनको म्यादसमेत थप गरेको बताइएको छ।
प्राप्त विवरण अनुसार, उनीहरुले आफु नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको ने.क.पा.को नेता-कार्यकर्ता भएको दाबी गर्दै काठमाण्डौ उपत्यका लगायतका विभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी धम्क्याएर चन्दा मागेको बताइएको छ। उनीहरुमध्ये एकले धम्क्याउने क्रममा आफु नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको ने.क.पा.को पूर्व जिल्ला सेक्रेटरी भएको जिकिर गर्ने गरेको पनि प्रहरीको दाबी छ।
तीन करोड रूपैयाँ चन्दा मागेका उनीहरूले भने बमोजिम चन्दा नदिएमा भौतिक कारबाही समेत गर्ने धम्की दिँदै विभिन्न व्यवसायीको घर तथा कार्यालय समेतको निगरानी गरी दबाब दिने गरेको प्रहरीले जानकारी दिएको छ।
उनीहरु बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यलार्ता हुन् कि हैनन् भन्ने बारेमा त्यस पार्टीले आधिकारिक रुपमा कुनै जानकारी सार्वजनिक गरेको छैन।