कोरोना संक्रमणबाट काभ्रेमा एक जना पत्रकारको मृत्यु भएको खबर सार्वजनिक भैरहंदा नेपाली अन्तररास्ट्रिय स्तरको मैत्रीपूर्ण खेलकुद खेल्ने राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
कोरोना संक्रमित भै केही दिन यता काठमाण्डौमा उपचाररत काभ्रे पोस्ट साप्ताहिकका सम्पादक बिष्णु चौलागाईको कोरोना संक्रमनाबाट मृत्यु भएको विभिन्न सार्वजनिक संचार माध्यमहरुले जानकारी दिएका छन्। उनको कोरोना संक्रमणका साथमा निमोनिया र श्वास प्रश्वासमा समस्या आएपछि दुई सातादेखि काठमाडौस्थित एक अस्पतालमा उपचार हुँदै आएको थियो।
यसैबीच भर्खर सार्वजनिक समाचार अनुसार, बंगलादेशसंग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ।
कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरू गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरू भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए। नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ।
एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ।
प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फालाई अनुमति दिएको हो। नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेको छ।
मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो।
टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन्।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।