लमजुङको सिउरुङ गाउँ जवरजस्ती आउजाउ गर्नेलाई १० हजार रुपियाँ जरिवाना

लमजुङको सिउरुङ गाउँ जवरजस्ती आउजाउ गर्नेलाई १० हजार रुपियाँ जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ भाद्र २०७७
  • 7.8K
    Shares

सिउरुङ गाउँ

लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ मा पर्ने पर्यटकीय गाउँ सिउरुङ भदौ ११ गते बिहीबारदेखि भदौ २० गतेसम्मका लागि बन्द गरिएको छ ।

लमजुङमा कोरोना भाइरस संक्रमण बढ्दै गएको र समुदायमै कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयले गाउँ प्रवेशमा बन्देज लगाएका हुन् ।

सिलादेवी टोल सुधार समितिका अध्यक्ष नन्द घलेका अनुसार,  कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि स्थानीय बुद्धिजिवि, आमा समूह, बाबा समूह, युवा क्लबको छलफलबाट गाउँ प्रवेशका लागि बन्द गरिएको हो । बिहीबार गाउँमा भएको एक छलफलबाट गाउँमा कसैलाई पनि प्रवेश गर्न नदिने निर्णय गरेको छ । गाउँबाट अर्को गाउँ गएर फर्कन र अर्को गाउँबाट आउन रोक लगाइएको छ । निर्णय नमानी जवरजस्ती आउजाउ गर्नेलाई १० हजार रुपियाँ जरिवाना गर्ने निर्णय भएको अध्यक्ष घलेले जानकारी दिए।

गाउँभित्र पनि अत्यावश्यक काम बाहेक आउजाउ गर्न नपाइने निर्णय गाउँलेहरुको भेलाले गरेको छ। छिमेकी गाउँ र बेंसीसहरमा बस्दै आएका स्थानीयहरुलाई समेत गाउँ आउन नदिइने निर्णय गरिएको छ ।

वि.सं. २०६५ बाट शुरु भएको सिउरुङमा हाल १९ वटा घरवास रहेका छन् । सिउरुङ गाउँमा एकसय २० घरधुरी छन् । मनास्लु हिमालको काखमा रहेको उक्त घरवास समुद्री सतहदेखि एक हजार ८ सय ५४ मिटरको उचाइमा छ । विभिन्न हिमशृंखलाको दृश्यावलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासिन्दाको हार्दिकता, आत्मियता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता हो ।

गाउँकै सामुन्ने ऐना जस्तैगरी देखिने मनास्लु हिमश्रृंखला, हिमालचुली, ङादीचुलीलगायत हिमालले सिउरुङ गाउँको सुन्दरता थपेको छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । घरवास पुग्ने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको मासु, गाउँमै उत्पादित सागसब्जी लगायतको परिकार खुवाउने गरिन्छ । गुरुङ समुदायको साँस्कृतिक कृष्ण चरित्र, घाँटु, सोरठीलगायतका नाच हेर्न सकिन्छ । गाउँमा परम्परागतदेखि चलिआएको रोधी समेत बस्ने समेत गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार