सत्तारुढ नेकपाको सचिबालय बैठक आव्हान, प्रम ओलीद्वारा मन्त्रीमण्डल पुनर्गठन, प्रदेशका मुख्यमन्त्रीहरु हेरफेरको तयारी

सत्तारुढ नेकपाको सचिबालय बैठक आव्हान, प्रम ओलीद्वारा मन्त्रीमण्डल पुनर्गठन, प्रदेशका मुख्यमन्त्रीहरु हेरफेरको तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३२ साउन २०७७
  • 4.1K
    Shares

केपी ओली र प्रचण्ड

पार्टीमा देखिएको बिबाद समाधान गर्न गठित कार्यदलप्रति शिर्षस्थ नेताहरुले असन्तुष्टि जनाएपछि सो कार्यदललाई बैधानिकता दिन सत्तारुढ नेकपाले सोमबार बिहान पार्टीको सचिबालय बैठक डाकेको छ।

पार्टीका शिर्षस्थ नेताहरु माधबकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले शनिबार मात्रै पार्टीका कार्यकारी अध्यक्ष भनिएका पुष्पकमल दाहाललाई भेटेर पार्टीमा देखिएको बिबाद समाधान गर्न गठित कार्यदलप्रति प्रश्न उठाएका थिए।  उनीहरुले पार्टीको सचिबालय बैठक बोलाएर कार्यदललाई बैधानिकता दिन आव्हान गरेका थिए।

यसैबीच पार्टी अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र असन्तुष्ट रहेको भनिएका माधब नेपाल गुटका नेता समेतलाई समेटेर मन्त्रीमंडल पुनर्गठनको तयारी गरेको समाचारहरु सार्वजनिक भएका छन्।  त्यति मात्र हैन , केही प्रदेशका मुख्यमन्त्रीहरु समेत परिवर्तन हुने सम्भावनालाई देखाउन थालिएको छ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झ्याउन ६ नेता सम्मिलित कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको बताइएको छ । पार्टीभित्र देखा परेको विवाद समाधान गर्न अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुषाल र सुरेन्द्र पाण्डे सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएलगत्तै सोही प्रतिवेदनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने बालुवाटारको तयारीपछि सो पार्टीका नेता कार्यकर्तामाझ मन्त्रिमण्डल पुनगर्ठनको चर्चा चल्न थालेको हो ।
खासगरी पार्टीमा देखिएका आन्तरिक समस्या सम्बोधन गर्ने तथा पार्टी एकता अक्षुण राख्नेगरी प्रस्ताव तयार गर्न कार्यदललाई भनिएको छ ।

नेकपामा पहिलेदेखि नै एक व्यक्ति एक जिम्मेवारीको विषय उठाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालको माग सम्बोधन गर्न पनि दोहोरो जिम्मेवारी नरहनेगरी प्रस्ताव आउनसक्ने सो पार्टीका नेता कार्यकर्ताको भनाइ छ ।
त्यसोे त शक्ति सन्तुलन कायम गर्न केन्द्रीय सरकारका केही मन्त्रीहरु हेरफेर तथा मुख्यमन्त्रीहरुको समेत जिम्मेवारी हेरफेर गरेर जानुपर्ने आवाज नेकपाको सचिवालयमा धेरै पहिलेदेखि नै उठ्दै आएकाले त्यसको सन्तुलन मिलाउन समेत मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने धेरैको आँकलन छ ।

यसअघि दुई अध्यक्षबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधामन्त्री दुवै पदबाट राजीनामा दिनु नपर्ने तथा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि मान्य हुनेगरी सहमतिको खाका बनाउने विषयमा दुई अध्यक्षबीच सहमति भैसकेकाले पनि मन्त्रीहरुको हेरफेर निश्चित छ ।

स्रोतका अनुसार दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गर्ने क्रममा ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने गरी पहिलो खाका बन्नेछ । त्यसपछि महाधिवेशन र मन्त्रिमण्डल पुर्नगठन तथा केही मुख्यमन्त्रीहरु फेरवदल गर्नेगरी कार्यदलले खाका तयार गर्नेछ ।

स्रोेतका अनुसार २ वर्ष मन्त्री भैसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना छ । तिनका स्थानमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई मौका दिने गरी ओली प्रचण्डबीच लगभग सहमति भएको बुझिएको छ ।

नेकपा नेताहरुका अनुसार हालका मन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल भने फेरवदलका क्रममा पनि रहिरहने सूचीमा पर्नेछन् । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र ५ का शंकर पोखरेलको ठाउँमा नयाँ मुख्यमन्त्रीको खोजी हुन थालेको छ । त्यस्तै नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री सहित कुनै एक महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ ।
तर श्रेष्ठ सरकारमा गए यसअघि उनको कोटाबाट मन्त्री बनेका गिरीराजमणि पोखरेल सरकारबाट बाहिरिनुपर्नेछ । प्याकेजमै सहमति गर्दा बामदेव गौतमको व्यवस्थापनका विषयमा समेत कार्यदलले केही प्रस्ताव तयार गर्ने बुझिएको छ ।

भदौ १९ पछि अर्थमन्त्री युवराज खतिवडा मन्त्री बन्ने सम्भावना कम रहेको बताइन्छ । शक्ति सन्तुलन मिलाउन उनको ठाउँमा वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने विकल्प कार्यदलले पेश गर्न सक्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार