शरिर बन्धक र ठगी गरेको आरोपमा रामेछापको लिखु तामाकोसी गापा अध्यक्ष खड्का सदरमुकाम मन्थलीबाट पक्राउ

शरिर बन्धक र ठगी गरेको आरोपमा रामेछापको लिखु तामाकोसी गापा अध्यक्ष खड्का सदरमुकाम मन्थलीबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० साउन २०७७
  • 4.4K
    Shares

गोविन्द बहादुर खड्का

रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का सदरमुकाम मन्थलीबाट पक्राउ परेका छन् । गाउँपालिकाद्वारा सञ्चालित विकास निर्माण योजनामा स्थानीय उपभोक्ता समितिको पदाधिकारीलाई बन्धक बनाएर खाली चेकमा हस्तारक्ष गर्न लगाएको र ठगी गरेको अभियोगमा अध्यक्ष खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) बसन्त पाठकले शरिर बन्धक र ठगी गरेको आरोपमा खडकालाई पक्राउ गरिएको जानकारी दिए । उनले भने, ‘उपभोक्ता समितिका दर्पण घिसिङलाई उजुरीको आधारमा खडकालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं ।’

स्थानीय उपभोक्ता समिति र गाउँपालिका अध्यक्ष खड्काबाट ठगिएका ब्यक्तिहरुको उजुरीको आधारमा पक्राउ गरिएको डिएसपी पाठकको दाबी छ  ।

गाउँपालिका अध्यक्ष खड्का विरुद्ध ठगी गरेकाे, शरीर बन्धक गराएको र स्थानीय उपभोक्तालाई धम्की दिएको गरि तीन वटा उजुरीहरु परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

केही दिनअघि मात्रै लिखु तामाकोशी गाउँपालिकामा लिखु जलविद्युत आयोजना ३ र ४ का मालवाहक ढुवानीका साधनहरुलाई अनिश्चितकालिन रोक लगाएका थिए ।

गाउँपालिका अध्यक्ष गोविन्द खड्काले निर्माणाधिन लिखु–३ र लिखु–४ हाइड्रोपावरले अति प्रभावित स्थानीयबासीले पाउनु पर्ने सेवा सुविधा पनि नदिएको तथा विगत ३ महिनादेखि उक्त सडक मार्ग जलविद्युतका सवारी साधनले सडक भत्किएको भन्दै गाउँपालिकाले एक पत्रमार्फत रोक लगाएको जानकारी दिएका थिए ।

हलेदे-धोवी-सिरिसे सडक स्थानीय तहले पटक पटक स्तरोन्नतीको गर्दै आएपनि हाइड्रोले सडकको क्षमताभन्दा बढीका सवारी साधन गुडाउँदा सडक जीर्ण बनेको भन्दै गाउँपालिका प्रवेशमा रोक लगाएको गाउँपालिका अध्यक्ष खड्काले जानकारी दिए ।

तत्कालीन एमालेबाट निर्वाचित खड्कालाई पार्टीको नीति र जनताको भावना विपरित एकलौटी ढंगले अगाडि बढेकाे भन्दै पार्टीको जिल्ला सदस्य लगायत सबै जिम्मेवारीबाट नेकपाले निलम्बन गरेको थियाे ।

अध्यक्ष भएदेखि नै एकलौटी रुपमा गाउँपालिकामा मनोमानी गरेको भन्दै उपाध्यक्ष दीपशिखा दाहालसहित एमालेबाटै निर्वाचित वडाध्यक्षहरुले खड्काविरुद्ध पटक–पटक पार्टीको ध्यानाकर्षण गराउँदै आएका थिए ।

पछिल्लो समय लिखु तामाकोशी गाउँपालिकामा विद्युतीकरणमा १२ करोड ४४ लाखमाथि खर्च भएको पालिका अध्यक्ष खड्काले कार्यपालिका बैठकमा पेश गरेका थिए । गाउँपालिकाबाट विद्युतिकरण गर्दा तिर्नु पर्ने बाँकी ६ करोड ९५ लाख रकम थप विनियोजन गर्नु पर्ने माग अध्यक्षले राखेपछि कार्यपालिकाका बहुमत सदस्यले अनुगमन गरेर मात्रै थप भुक्तानी दिने अडान राखेका थिए ।

बैठकमा गाउँपालिकामा कार्यविधी विपरीत एम्बुलेन्स संचालन गरेको, पालिका भित्रको हरहिसाब आर्थिक पारदर्शिता नभएकाले सबै कारोबारको छानबीनसहित कार्यपालिकामा पेश गर्न लेखा समिति गठन गर्नुपर्ने लगाएतको माग राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार