जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको छ । उनलाई सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।
श्रेष्ठको साथबाट स्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको बताइएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले सिंचाइ कार्यालयका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियारले पक्राउ गरेको पुष्टि गरे ।
यसैबीच नेपाल प्रहरीका डीएसपी रमेशबहादुर सिंहविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनसन्धान आयोगले नागरिकताको जन्म मिति सच्चाएर झुठा विवरण उल्लेख गरी प्रहरी निरीक्षकमा भर्ना भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इस्पेक्टरको दर्खास्त दिन जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाण–पत्रमा उल्लिखित जन्म मिति सिंहले सच्चाएका थिए । र, जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट झुठो विवरणसहितको प्रतिलिपि निकालेका थिए । सिंह यसअघि पनि भ्रष्टाचारको अभियोगमा सफाइ पाएका अधिकृत हुन् ।