इरानले अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ईराकको राजधानी बग्दादमा गत जनवरी महिनामा ड्रोन आक्रमण गरि ईरानी सैन्य प्रमुख सोलेईमानीको हत्यारा ठहर गर्दै ईरानले पक्राउ पुर्जीको सूचना जारी गरेको हो । साथै ईरानले ईन्टरपोललाई ट्रम्प बिरुद्ध रेड कर्नर नोटिस जारी गर्न र तत्काल पक्राउ गरेर बुझाउन अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोलसँग सहयोग समेत माग गरेको छ ।
ईरानी समाचार संस्था आईएसएनएका अनुसार जनवरी ३ मा भएको क्वासेम सोलेईमानीको हत्यामा ट्रम्प सहित अन्य ३० जनालाई ईरानले दोसी ठहर गरेको छ ।
फ्रान्समा रहेको ईन्टरपोल मुख्यालयले ईरानले जारी गरेको पक्राउ पुर्जी र पक्राउ गरेर बुझाउन गरेको अनुरोधबारे तत्काल केही प्रतिक्रिया दिएको छैन । रेड कर्नर नोटिस जारी गरिएका व्यक्तिलाई ईन्टरपोलको सदस्य रहेका राष्ट्रले सम्वन्धित देशको प्रक्रिया पुर्याएर पक्राउ गरेर बुझाउनु पर्ने हुन्छ ।
अमेरिकाले ईरानी रिभोलुसनरी गार्डका प्रमुख रहेका सोलेईमानीलाई आफुहरुले एयरस्ट्राईकमा मारिदिएको बताउँदै आएको छ ।
अमेरिका र ईरानबिच दशकौंदेखी रहँदै आएको कटुतापूर्ण सम्वन्ध पारमाणविक केन्द्रको विषय हुँदै सोलेईमानीको हत्यापछि ईराकमा रहेका अमेरिकी सैन्य अखडामा व्यालेस्टिक मिसाईल आक्रमणसम्म पुगेको छ ।