एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्ने नाममा भारतले अघोषित ड्याम बनाएपछि मोरङको विराटनगर महानगरपालिकाको वडा नम्बर १८ बुधनगर क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण जमेको पानी जाने निकास नहुँदा घर नजिकैको खेतमा डुबेर स्थानीय जयपाल मण्डलका ७ वर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको हो ।
डुबानका कारण खेतीयोग्य जमिन जलमग्न छ । रोपेको धान पनि नष्ट हुने अवस्थामा पुगेको स्थानीयले बताए । बाढीका कारण विराटनगर १८ का खोक्साहा, समादगी, लावाघाट, भेडीयारी र डाङग्रा टोल बढी डुबानमा परेका हुन् ।
विराटनगर- १८ भारतसँग सीमा जोडिएको क्षेत्र हो । आफ्नो क्षेत्रमा बाढीको प्रभाव रोक्न भारतले रेलको लिकलाई नै ड्यामको रुपमा प्रयोग गरेको स्थानीयले बताएका छन् । स्थानीयले पटक-पटक आग्रह गर्दा राज्यले नसुनेका कारण आफ्नो वडा डुबानमा परेको विराटनगर महानगरको वडा नं १८ का वडाध्यक्ष राजदेव यादवले बताए । ‘निर्माण गर्दै गर्दा महानगरलाई भन्यौं । प्रशासनलाई गुहार्यौं,’ स्थानीय शम्भुकुमार यादव भन्छन्, ‘हाम्रो कुरा कसैले सुनेनन्, अहिले डुबान भोग्दैछौं ।’
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भारतले आईसीपी र रेल्वे लिकका नाममा ड्याम बनाएका कारण बुधनगर क्षेत्र डुबानमा परेको बताउँछन् । ‘रेल्वेको नाममा बुधनगर क्षेत्रमा ड्याम बनेको छ,’ उनले भने, ‘ हामीले निकासका लागि पुल बनाउन भन्दैछौं, संघीय सरकारले पहल पनि गरेको छैन ।’
रेल्वे लिकमा बिछ्याइएको स्थानमा निकासका लागि पुल नबनाएसम्म विराटनगर– १८ मा डुबान समस्या समाधान नहुने उनले बताए । ‘प्रदेश सरकार र संघीय सरकारलाई भनेका छौं,’ उनले भने, ‘डुबानको समस्या समाधान गर्न सरकारले पुल बनाइदेओस् ।’
आईसीपी क्षेत्रमा पुल नबनाएसम्म डुबानको समस्या सामधान नहुने बताउँदै उनले तत्काल संघीय सरकारले पुल बनाउन पहल गर्नुपर्ने बताए । ‘विराटनगरको अन्य क्षेत्रमा समस्या छैन,’ उनले भने, ‘आईसीपीका कारण बुधनगरमा डुबानको समस्या हो ।’