सर्लाहीको धनकौल गाउँपालिकामा सत्तारुढ नेकपा र नेपाली कांग्रेस कार्यकर्ताबीच भएकाे झडपमा गोली चल्दा १२ जना घाइते भएका चाहन भने गोली चलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेको निहुँमा झडप हुँदा गोली चलेको गोली लागेर घाइते भएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेको जिल्लास्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार, गोली चलेको बन्दुक कसको हो भन्ने खुलिसकेको छैन । यद्यपि, प्रहरीले स्थानीय मुकेश शाहलाई गोली चलाएको आशंकामा पक्राउ गरेको छ ।
धनकौलमा आइतवार साँझ नेकपाले रामनगरमा भएको हत्याको घटनालाई लिएर ¥याली निकालेको थियो । त्यही ¥यालीकै क्रममा आइतवार साँझ झडप भएको हो । एक साताअघि रामनगर गाउँपालिका–४, का ६० वर्षीय रामजल यादवको हत्या भएको थियो । यादव नेकपाका स्थानीय नेता हुन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार घटनामा केही व्यक्तिलाई गोलीको छर्रा लागेको छ । तर, कुन पक्षबाट गोली प्रहार भएको भन्ने स्पष्ट भइनसकेको जिसीको भनाइ छ ।
राति साढे ८ बजे भएको घटनाले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गाउँपालिकामा पुगेको थियो भने केही राउण्ड टियर ग्यास हानिएको थियो ।
कांग्रेस सांसद अमरेश कुमार सिंहको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने त्यस घटनामा घाइतेमध्ये धेरै कांग्रेस कार्यकर्ता रहेको स्थानीय बताउँछन् ।