केही समय यता अमेरिका र रुसको सम्बन्धमा केही उल्झन देखा पर्न थालेको देखिएको छ । अमेरिकामा डोनाल्ड ट्रम्पको उदयपछि पुटिनसँग नयाँ सुमधुर सम्बन्धको संभावना देखिएपनि पछिल्ला केही दिन यता रुस र अमेरिकाको सम्बन्धमा केही कटुता देखिएको छ । विश्व राजनीतिमा तरंग उत्पन्न गराउन सक्ने शक्तिशाली देश रुस र अमेरिका एकआपसमा प्रतिष्पर्धीको रुपमा अगाडी बढीरहेका थिए ।
पहिले त अमेरिकाले रुसलाई आफ्नो सबैभन्दा शक्तिशाली प्रतिद्वन्द्वी भएको बयान दिएपछि यसबारेमा रुसले राम्रो प्रतिक्रिया दिएको थिएन । यसैबीच ट्रम्प प्रशासनको अर्को निर्णयले पनि पुनः रुसलाई निराश बनाएको छ ।
ट्रम्प प्रशासनले यूक्रेनलाई प्रतिरक्षात्मक हतियार प्रदान गर्ने निर्णय गरेपछि रुसले अमेरिकाको यस कदमको कडा आलोचना गरिरहेको छ । उनीहरुको यस्तो फैसलाले हिंसा भड्काएको रुसको आरोप छ । अमेरिकाले आफ्ना हतियारहरु युक्रेनलाई बेचेपछि यसका कारणले शान्ति भङ्ग हुन सक्ने रुसको भनाइ छ । यसबारेमा रुसका विदेश मन्त्री सेर्गी र्याब्कोबले भने, ‘अमेरिकाले यसरी हतियार प्रदान गरिरहँदा हाम्रा छिमेकी मुलकमा अशान्ति बढ्ने खतरा पैदा भएको छ । र यसको परिणामलाई हामीले कुनैपनि हालतमा नजरअन्दाज गर्ने छैनौँ । ’ उनको यस बयानपछि पनि रुसले अमेरिकाप्रति असन्तुष्टि व्यक्त गरिरहेको प्रष्ट भएको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् । यसभन्दा अघि पनि अमेरिकाले युक्रेनलाई समर्थन गर्दै आइरहेको थियो तर अहिले ट्रम्प प्रशासनले युक्रेनमा लडिरहेका रुसी सेनाबाट बच्न युक्रेनलाई प्रतिरक्षात्मक हतियार दिने भएपछि रुसले यसप्रति निराशाजनक प्रतिक्रिया दिएको हो । युक्रेनमा भइरहेको युद्धमा २०१४ देखि अहिलेसम्ममा १० हजारले ज्यान गुमाइसकेका छन् ।
यता ट्रम्पले भने पुटिनसँगको आफ्नो नजिकी सम्बन्धलाई विश्वका सामु खुलस्त प्रस्तुत गर्दै आइरहेका छन् तर हालका केही गतिविधिले भने रुस अमेरिकासँग खुसी नभएको देखिएको छ । यसरी पुटिनसँगको नजिकी सम्बन्धका बाबजुद अमेरिका र रुसबीच तनाव बढ्दै गइरहेको छ ।