अमेरिकी बमवर्षक विमानहरुले कोरियाली प्रयादीपमा बम खसालेपछि उत्तर कोरिया आगो भएको छ । उत्तर कोरियाको सरकारी संचारमाध्यमका अनुसार सर्वोच्च नेता किम जोङ उनले परमाणु कार्यक्रमलाई थप बढाएर अमेरिकी चुनौतीलाई परास्त गर्ने गरी तयारीमा बस्न सैनिक अधिकारीलाई निर्देशन दिएका छन् ।
सोमबार मात्रै अमेरिकी बमवर्षक विमानहरुले दक्षिणसँग मिलेर बम खसालेको थियो । यसलाई उत्तर कोरियाले अमेरिकाले युद्धको घोषणा गरेको रुपमा लिएको छ । यसैबीच उत्तर कोरियाको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै आफ्नो देशमाथि संयुक्त राष्ट्र संघले लगाएको नयाँ प्रतिबन्ध अमानविय भएको बताएको छ ।
प्रतिबन्धले परमाणु कार्यक्रम रोकिनुको साटो बढ्दै जाने र यसले आफ्नो देशको परमाणु लक्ष्य पूरा गर्न सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।