राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सम्मेलनमा सहभागी हुन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) १०६ औं सेसनअन्तर्गतको एक बैठक अन्तर्गतको ‘वर्ल्ड अफ वर्क समिट’ मा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
उक्त सेसनका तीन प्रमुख वक्तामध्ये एक राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा महिला हकहित र श्रममा हासिल उपलब्धिबारे बोल्नेछिन् । पछिल्लो समय नेपालले महिला नेतृत्वमा हासिल गरेको उपलब्धि र महिला राष्ट्रपतिका नाताले भण्डारीलाई आईएलओले निमन्त्रणा गरेको अधिकारीहरूले बताए । अन्य दुई मुलुकका राष्ट्रपति क्रमश: मरिससकी अमिनाह गउरिव–फाकी र माल्टाकी मेरी लुइस कलेरो–प्रेसा पनि उक्त सम्मेलनका प्रमुख वक्ता छन् ।
नेपालले श्रम संगठनको गभर्निङ बोर्डमा सहभागिताको निर्वाचन जितेको भोलिपल्ट उनी त्यसतर्फ लागेकी हुन् । राष्ट्रसंघभन्दा जेठो संस्था आईएलओको गभर्निङ बडीमा नेपालले पहिलो पटक सरकारीस्तरबाट उम्मेदवारी दिने र नेपालले आइएलओको धेरै पक्षमा हस्ताक्षर समेत गरेकाले नेपालबाट उनलाई निम्त्याइएको हो ।