हुम्ला सदरमुकाममा खाद्यान्न अभाव

हुम्ला सदरमुकाममा खाद्यान्न अभाव


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० जेष्ठ २०७४
  • 10.6K
    Shares

सातादेखि खाद्यान्न ढुवानी नहुँदा र खाद्य संस्थानमा चामलको मौज्दात सकिँदै गएपछि हुम्ला सदरमुकाम सिमकोट र खार्कुनाथ गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । नेपाल खाद्य संस्थानको सिमकोट शाखामा मुस्किलले डेढ सय क्विन्टल चामल बाँकी छ ।

खाद्य संस्थानमा मौज्दात सकिँदै गएपछि सिमकोट बजारमा चामलको अभाव भएको हो । खाद्य संस्थान हुम्लाका अनुसार हवाई मार्गबाट यसअघि नेपाली सेनाको स्काई ट्रकले ढुवानी गर्ने गरेकामा जहाज साताअघि दुर्घटना भएपछि ढुवानी रोकिएको छ । खाद्य संस्थानमा प्रतिकिलो ८० रुपैयाँ प्रतिकिलो पाइने चामलको मूल्य हुम्ला सदरमुकामा प्रतिकिलो १ सय ५० रुपैयाँ बढी पर्ने गरेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले अन्य क्षेत्रमा चामल पर्याप्त भए पनि सदरमुकाम आसपासमा भने खाद्यान्न अभाव देखिएको छ । उनका अनुसार खाद्य संस्थानमा चामलको अभाव मौज्दात सकिँदै गएपछि वडा भाग र रासन कार्डमार्फत गरिने चामल वितरण रोकिएको छ । ‘खाद्य संस्थानमा चामल सकिँदै गएकाले वितरणलाई नियन्त्रण गरिएको छ । हामीले जन्म र मृत्यु संस्कारका लागि मात्र चामल वितरण गर्न थालेका छौं,’ जिल्ला खाद्य व्यवस्था समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘अन्य क्षेत्रमा चामलको अभाव नदेखिए पनि सदरमुकाम आसपासमा समस्या देखिएको छ ।’

खाद्य संस्थानको हुम्लास्थित शाखा कार्यालयका प्रमुख नारायण केसीका अनुसार सिमकोटका लागि वार्षिक १३ हजार ५ सय क्विन्टल कोटा छुट्याइएको छ । उनले कोटाअनुसारको चामल ढुवानी हुन नसकेकाले समस्या भएको बताए । संस्थानका अनुसार चालु आर्थिक वर्षमा ८ हजार २६ क्विन्टल ८० किलो चामल मात्र ढुवानी भएको छ । ‘सुर्खेत र नेपालगन्जबाट हुनुपर्ने वार्षिक कोटाअनुसारको ढुवानी नै पूरा हुन सकेको छैन,’ उनले भने, ‘हामीले कोटाबाहेक थप चामलको व्यवस्था हुनुपर्छ भने पनि ढुवानी व्यवस्था कमजोर भएपछि समस्या भएको हो ।’

एक साताअघि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा निजी एयरलाइन्सका प्रतिनिधि, राजनीतिक दल र उद्योग वाणिज्य संघलगायतका नागरिक समाजबीच भएको सहमतिअनुसार नेपालगन्जबाट १ सय १५ रुपैयाँ र सुर्खेतबाट १ सय ५ रुपैयाँ प्रतिकिलो कार्गो दर कायम गर्ने निर्णय भएको थियो । हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङका अनुसार नेपालगन्ज र सुर्खेतबाट हुम्लासम्म खाद्यान्न ढुवानीका लागि निजी एयरलाइन्सले दैनिक एक उडान गर्ने सहमति भएको बताए । खाद्य संस्थानले हालसम्म निजी जहाजबाट खाद्यान्न नओसारेकाले समस्या भएको उनको भनाइ छ ।

साताअघि निजी जहाज कम्पनीबाट खाद्यान्न ढुवानी गर्न जिल्ला खाद्य व्यवस्था समितिले खाद्य संस्थान र गृह मन्त्रालयलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जनाए । खाद्य संस्थानले हालसम्म निजी जहाजबाट खाद्यान्न नओसारेकाले समस्या भएको उनको भनाइ छ ।

एक साताअघि निजी जहाज कम्पनीबाट खाद्यान्न ढुवानी गर्न जिल्ला खाद्य व्यवस्था समितिले खाद्य संस्थान र गृह मन्त्रालयलाई अनुरोध गरी पठाइएको प्रजिअ पौडेलले जनाए । ‘हामीले ढुवानी सहज बनाउन र खाद्यान्नको सहज आपूर्तिका लागि माथिल्ला निकायमा लेखापढी गरी पठाएका छौं,’ प्रजिअ पौडेलले भने, ‘तर, उक्त प्रक्रियाबारे कुनै जानकारी नआउँदा खाद्य संस्थानको चामल सकिँदै गएको छ । स्थानीयले दोब्बर बढी महँगोमा खाद्यान्न उपयोग गर्नुपर्ने बाध्यता छ । तत्कालै पहल नभए बजारमा पनि मागअनुसारको खाद्यान्न धान्न समस्या आउने देखिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार