यस बर्ष पनि मनसुन भित्रिन ढिलाई,पश्चिम नेपालमा कम पानी पर्ने

यस बर्ष पनि मनसुन भित्रिन ढिलाई,पश्चिम नेपालमा कम पानी पर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ जेष्ठ २०७४
  • 10.6K
    Shares

काठमाडौं । गत वर्षजस्तै यसपटक पनि नेपालमा मनसुन भित्रिन ढिलाइ हुने भएको छ ।

सामान्यता जुन १० देखि नेपालमा मनसुन सुरु हुन्छ । तर, मनसुन सक्रिय हुन अझै एकहप्ता लाग्ने मौसमविदको पूर्वानुमान छ ।

मौसमविद समिर श्रेष्ठले भने, ‘नेपालभन्दा पूर्वतिर भुटान आसपासमा मनसुन छ । अब आउने हप्ताभित्र नेपाल प्रवेश गर्छ ।’गत वर्ष पनि जुन १५ तारिखदेखि नेपालमा मनसुन सुरु भएको थियो । नेपालमा पूर्वी नेपालबाट मनुसन भित्रिने गर्दछ ।

मनसुन छिट्टै सक्रिय हुने संकेतस्वरुप बिभिन्न जिल्लामा पानी परिरहेको मौसमविद श्रेष्ठले बताए । ‘अहिले हावाको दिशा, जलवाष्पयुक्त वायु, बादल, लगायत कण्डिसन अनुकल भइरहेको छैन । तर छिट्टै मनसुन सक्रिय हुने पूर्वसंकेत देखापरेको छ,’ श्रेष्ठले भने ।

औसत वर्षा हुने अनुमान

मौसमविदका अनुसार यस वर्ष नेपालमा औसत पानी पर्नेछ । गत वर्ष भने अपेक्षाकृत पानी परेको थिएन ।

यस वर्ष पूर्वी नेपाल र मध्य नेपालमा औसत वर्षा हुनेछ । पश्चिम नेपालमा भने औसतभन्दा कम पानी पर्ने अनुमान गरिएको मौसमविद श्रेष्ठले बताए ।

‘गत वर्ष एलनिनोको प्रभावका कारण केही ड्राई देखिएको थियो । यस वर्ष पनि औसतमा पानी पर्छ,’ मौसमविद श्रेष्ठले भने, ‘पश्चिम नेपालमा सुरुमा औसतभन्दा कम पानी परे पनि मनसुनको अन्तिम महिनामा भने औसत नै हुन्छ ।’

जुन महिनाबाट सुरु हुने मनसुन सेप्टेम्बर महिनासम्म सक्रिय रहन्छ । पश्चिम नेपालमा जुन, जुलाई र अगष्टमा कम पानी परे पनि मनसुनको अन्तिम महिना सेप्टेम्बरमा भने औसतमै वर्षा हुने श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार