नागरिकता किर्ते प्रकरण : स्याङ्जाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जना पुर्पक्षमा रहने गरी जेल चलान

नागरिकता किर्ते प्रकरण : स्याङ्जाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जना पुर्पक्षमा रहने गरी जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०८३
  • 5.8K
    Shares

स्याङ्जा, ११ मंसीर २०८३।

नागरिकता किर्ते प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जना पुर्पक्षमा रहने गरी कारागार चलान भएका छन्।

जिल्ला न्यायाधिश उपेन्द्रप्रसाद गौतमको बिहीबारको एकल इजलाशले नागरिकता किर्ते प्रकरणमा संलग्न रहेको आरोप लागेका जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जना पुर्पक्षमा रहने गरी थुनामा राख्न आदेश दिएपछि उनीहरु स्याङ्जा जिल्ला कारागार चलान भएका हुन्।

अदालतको आदेश वमोजिम तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, लेखापाल रमेश विक, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं र फेदीखोला गाउँपालिका–२ का प्रयासी गुरुङ कारागार चलान भएका छन् ।

उनीहरूविरुद्ध सरकारी लिखतसम्बन्धी कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । सोही मुद्दाको सुनुवाइपछि अदालतले चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गुरुङका दुई बालबालिकाको नाबालक परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश भएका कागजात रुजु गर्ने क्रममा गुरुङको नाममा दुईवटा नागरिकता रहेको खुलेको थियो।

अभिलेखअनुसार बालबालिकाका बाबु प्रयासी गुरुङले २०५६ चैत ३ गते साविक आरुखर्क–८, स्याङ्जा स्थायी ठेगाना राखेर जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ५७०६६ नम्बरको नागरिकता पहिलो पटक लिएका थिए ।

त्यसको छ महिनापछि २०५७ भदौ २५ गते पोखरा लेखनाथ महानगरपालिका–७, कास्की स्थायी ठेगाना राखेर गुरुङले नै १०८५८८ नम्बरको नागरिकता कास्की प्रशासनबाट दोस्रो पटक लिएका थिए । कास्की प्रशासनले दुईवटा नागरिकता भेटिएपछि पहिलो नागरिकता रद्द गरिएको भए त्यसको कानुनी आधार, अपनाइएको प्रक्रिया, निर्णय गर्ने अधिकारी र रद्द गर्नुको कारणलगायतका कागजात उपलब्ध गराउन आग्रह गरेको थियो।

कास्की प्रशासनबाट नागरिकता रद्दसम्बन्धी अभिलेख मागिएपछि तीन जना कर्मचारीले आफ्नो अधिकारभन्दा बाहिर गएर सरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर गरेको भेटिएको बताइएको छ।

छानबिनका क्रममा तीन जना कर्मचारीले कागजात लेख्ने, प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गर्ने तथा कुनै निर्णय नै नभई निर्णयअनुसार नागरिकता रद्द भएको देखाउने गरी किर्ते गरेको देखिएको प्राप्त समाचारमा जनाइएको छ।

लेखापाल विकले कागजात लेख्ने, कम्प्युटर अपरेटर चापागाईंले प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गर्ने र प्रशासकीय अधिकृत शर्मा पौडेलले प्रमाणित गर्ने काम गरेको गत भदौ १५ गतेको कार्यालयको सीसीटीभी फुटेजमा देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार