काठमाण्डौ, ८ मंसीर २०८३।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आउने डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेकी छिन।
दुई वर्षभन्दा बढी समयदेखि भारतमा निर्वासित जीवन बिताइरहेकी हसिनाले आफ्नो प्रबक्तामार्फत स्वदेश फिर्ती बारे जानाज्कारी दिएकी हुन्।
प्राप्त विवरण अनुसार , उनी बंगलादेशको विजय दिवस पारेर सोहि दिन स्वदेश फर्किने घोषणा गरेकी हुन्। सन् १९७१ को मुक्ति संग्राममा पाकिस्तानमाथिको जितको सम्झनामा बंगलादेशमा विजय दिवस मनाउने गरिदै आएको छ।
हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट बंगलादेशको ढाका फर्कन सरकारी विमान पठाइदिन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन बंगलादेश सरकारसँग आग्रह गरेकी छन्।
यता बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किए पक्राउ गरिने चेतावनी दिएको छ। उनी फर्किन सक्ने सम्भावनालाई ध्यान दिँदै बंगलादेश सरकारले सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ।
बंगलादेशका विदेश राज्यमन्त्री हुमायुा कबिरले ढाकामा विदेशी कूटनीतिज्ञहरूलाई सरकारको धारणा स्पष्ट पार्दै उनी सामान्य यात्रु नभएको र दोषी ठहर भइसकेकाले फर्किए पक्राउ गरिने बताएका छन्।
कूटनीतिज्ञहरूलाई जानकारी दिएपछि पत्रकारसँग कुरा गर्दै कबिरले बंगलादेशी जनताले आन्दोलनमार्फत हसिनालाई अस्वीकार गरिसकेको उल्लेख गरे।
उनले इच्छा र वास्तविकता फरक हुने टिप्पणी गर्दै हसिना फर्किए हतकडी लगाइने चेतावनी दिए।
हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि सीमा सुरक्षा बल बंगलादेश (बीजीबी) ले भारतसँगको सीमामा गस्ती बढाएको छ।
विद्यार्थी नेतृत्वको विद्रोहपछि सन् २०२४ अगस्ट ५ मा भारत भागेकी हसिना त्यसयता देश फर्किन सकेकी छैनन्।
स्वदेश फर्कने उनको घोषणाले बंगलादेशमा राजनीतिक तनाव बढाएको छ भने सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
यसैबिच सरकारले बदलिँदो राजनीतिक अवस्थाबारे विपक्षीसहित विभिन्न दलसँग छलफल गरेको छ।
राष्ट्रिय नागरिक पार्टीका नेताहरूसँग पनि हसिनालाई स्वदेश फर्कनबाट रोक्ने उपायबारे बैठक भएको जनाइएको छ।
सरकारले विदेशी कूटनीतिज्ञहरूलाई हसिनाको अवामी लिग पार्टीले आतंकवादी गतिविधि सुरु गरेको आरोप लगाउँदै त्यसका सदस्यहरू फर्किए कानुनी कारबाही गरिने जानकारी दिएको छ।