काठमाण्डौ, ६ मंसीर २०८३।
प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३४ सदस्यीय टोलीको नेतृत्व गर्दै शाह दिउँसो १:४५ बजे नेपाल वायु सेवा निगमको विमानमार्फत नयाँदिल्ली जान लागेका हुन्।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा अन्य उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्।
भारतको विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज दिउँसो ३:१५ बजे भारतीय समयअनुसार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ। सोही दिन साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुनेछ।
भ्रमणको दोस्रो दिन सोमबार बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागतपछि शाहले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
भेटवार्तापछि दुई देशबीच समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गरिनेछ। सोही दिन दिउँसो ३:१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शाहले भेट गर्नेछन्।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग तथा विभिन्न समझदारी र सम्झौताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। काठमाण्डौ महानगरपालिकाको मेयर हुँदा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा नेपालको चुच्चे नक्शा राखेर आफु राष्ट्रवादी भएको देखाएका थिए। चुच्चे नक्शा नेपालको संसदले पारित गरेर आधिकारिकता समेत पाइसकेको छ। नेपालले लिपुलेक , कालापानी र टिंकर क्षेत्र नेपालको भएको बताई रहेको छ। तर भारतले त्यो तथ्यलाई अस्वीकार गरिरहेको छ। भारतले नेपालीभूमि मिचेको बारे प्रधानमन्त्री शाहले आफ्ना समकक्षी नरेन्द्र मोदीसंगको भेटमा राख्लान कि नाराख्लान ? त्यो प्रतिक्षाको बिषय बनेको छ। यदि उनले त्यस बिषयलाई उक्त भेटमा उठाएको अवस्था रहेमा भ्रमणको अन्तिममा जारी गरिने सब्युक्त प्रेस बिज्ञप्तिमा आउने छ।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ४:५० बजे स्वदेश फर्कने कार्यक्रम छ।