प्रहरी निरीक्षक केसी मृत्यु प्रकरण : दर्ता भयो ‘ज्यानसम्बन्धी कसूर’मा जाहेरी

प्रहरी निरीक्षक केसी मृत्यु प्रकरण : दर्ता भयो ‘ज्यानसम्बन्धी कसूर’मा जाहेरी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०८३
  • 1.5K
    Shares

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरिक्षक मृत्युको घटनाले नयाँ मोड लिएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर प्रहरी अधिकृतको निवासमा मृत भेटिएको भनिएका प्रहरी निरिक्षक पवनबहादुर केसीको मृत्यु रहस्यमय भएको भन्दै ज्यान सम्बन्धि कसुरमा जाहेरी दर्ता भए पछि उक्त मृत्यु प्रकरणले नयाँ मोड लिएको हो।

प्रहरीका अनुसार , दाङको घोराही उपमहानगरपालिका–१०, नारायणपुर निवासी उनका दाजु विनोदकुमार केसीले भाइको निधन रहस्यमय भएको भन्दै ‘ज्यानसम्बन्धी कसूर’ शीर्षकमा जाहेरी दर्ता गराएका छन्। उक्त जाहेरी दर्ता भएसंगै प्रहरी निरिक्षक केसीको हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान शुरु गर्नु पर्ने देखिएको छ।

मङ्गलबार बिहान आफ्नै निवास (क्वार्टर) मा अचेत अवस्थामा भेटिएका प्रहरी निरिक्षक केसीलाई तत्काल उद्धार गरेर अस्पताल पुर्याइएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले दाबी गरिरहेको छ।

२०५५ सालमा असईबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका केसीको शव जिल्ला प्रहरी कार्यालय गुल्मीले श्रद्धाञ्जली सभा गरेर परिवारको जिम्मा लगाएको छ। उनको बुधबार दाङकै घोराहीस्थित दुन्द्राघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार